Rumpum

Rumpum Advertisement

राष्ट्रिय झण्डा जलाएको भिडियो बनाउने पक्राउ

राष्ट्रिय झण्डा जलाएको भिडियो बनाउने पक्राउ

विराटनगर, २ भदौं । नेपाली राष्ट्रिय झण्डा जलाएको म्युजिक भिडियो बनाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जात, धर्म र राष्ट्रियताविरुद्धको भिडियो बनाएको आरोपमा क्यामेराम्यानलाई महानगरीय अपराध महाशाखाको टोलीले मंगलबार पक्राउ गरेको हो ।

नेपालको राष्ट्रियता र जातीय सद्भावका बारेमा आपत्तिजनक शब्द प्रयोग गर्दै नेपालको झण्डा जलाएको भिडयो बनाउने क्यामेराम्यानलाई पक्राउ गरेको महाशाखाका प्रबक्ता ईश्वर कार्कीले बताए ।

भिडियोबारे प्रहरीलाई जानकारी भएपछि प्रहरीले खोजी गरी उनलाई पक्राउ गरेको उनले बताए । उनका अनुसार गायक गेल्जङ दोर्जे तामाङलाई प्रहरीले खोजी गरिरहेको छ ।

सोमबार युट्युबमा सार्वजनिक भएको भिडियो पछिल्लो समय भाइरल बनेको छ । भिडियो सार्वजनिक भएलगतै कारवाहीको माग उठेको छ ।

‘मंगोल हप अफिसियल’ नामक च्यानलमा ‘देशद्रोही’ शीर्षकको गीत सार्वजनिक भएको थियो । आपत्तिजनक शब्द प्रयोग गरी जातीय सदभाव खलबल्याउने शब्द प्रयोग भएको गीतमा राष्ट्रिय झण्डा जलाएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले कारवाही गर्न नेपाल प्रहरीलाई आग्रह गरेका छन् ।

गीतमा र्यापरको नाम गोल ग्याल्ज ली एन्ड एटीएम उल्लेख छ । म्युजिक भिडियोको विवरण पनि उल्लेख छैन् । गीतको म्युजिक भिडियो मकवानपुर जिल्लाको बाग्मती गाउँपालिकास्थित श्री विष्णु आधारभूत विद्यालय क्षेत्रमा सुटिङ गरिएको भिडियोमा देख्न सकिन्छ ।

भिडियोमा नेकपा नेता र पूर्वराजा ज्ञानेन्द्र साहको तस्बिर पनि जलाइएको देखाइएको छ ।