विराटनगरको लकडाउन : ‘कडा नगर्ने भए समय तोकेर बजार खोलौं’

मेयर भन्छन् : संक्रमणको चेन ब्रेक भएको छैन

विराटनगर, २ भदौं । कोरोना महामारी नियन्त्रणका लागि विराटनगर महानगरपालिकाले ५ भदौंसम्म लकडाउन गरेको छ । १६ साउनबाट दुई साताका लागि आह्वान भएको लकडाउन ३० साउनमा सकिएपछि विराटनगरमा थप एकसाता लकडाउन थपिएको छ । तर बजार क्षेत्रमा लकडाउन प्रभावकारी छैन ।

विराटनगर मेनरोडका व्यावसायीहरु

लकडाउन प्रभावकारी नहुँदा सर्वसाधारण हिँडडुल गरिरहेका छन् । सटर बन्द भए पनि केही व्यावसायीले व्यापार गरिरहेका छन् । ठूला दुई मल भाटभटेनी र सेन्टर मल खुला छन् ।

लकडाउनको कार्यान्वयन बजार क्षेत्रमा प्रभावकारी नभएपछि विराटनगरका व्यापारीहरुले कडाइँ गर्न नसक्ने भए बजार खुला गर्न माग गरेका छन् । ‘ठूला मल निर्वाधरुपमा चल्ने, सानालाई बन्द गर्नु अन्याय हो,’ विराटनगर मेनरोडका व्यापारी भरतकुमार अग्रवाल भन्छन्, ‘लकडाउन गर्ने भए कडाइँ गरौं, कडाइँ गर्न नसक्ने भए निश्चित समय तोकेर बजार खोलौं ।’

विराटनगरमा संक्रमण दर तीव्र छ । मंगलबार बिहानसम्म संक्रमितको संख्या छ सय नाघेको छ । समयमा नै लकडाउन गरेका कारण विराटनगरमा सम्भावित दुर्घटना टरेको विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली बताउँछन् । तर विराटनगर मेनरोड बजार क्षेत्रका व्यावसायी भने देखावटी लकडाउनले झन् जोखिम बढेको गुनासो गर्छन् ।

‘सरकारले मेनरोडका सटर बन्द गर्दा लकडाउन सफल भयो भनेझैं गर्छ,’ व्यावसायी गौतम चेल भन्छन्, ‘ठूला मल खुल्ने भए हामीलाई पनि बजार खोल्न दिइयोस् ।’ उनी लकडाउनलाई व्यवस्थित गर्न आग्रह गर्दा स्थानीय प्रशासनले अटेर गरेको गुनासो गर्छन् । ‘मासिक भाडा र बैंकको ब्याज बढिरहेको छ,’ उनी भन्छन्, ‘लकडाउनको विकल्प पनि सोच्न पर्छ ।’

संक्रमणको चेक ब्रेक भएको छैन

विराटनगर महानगरपालिकाले थप गरेको लकडाउन शुक्रबार सकिँदैछ । लकडाउन थप गर्ने कि मोडल परिवर्तन गर्ने टुंगो लागेको छैन । तर संक्रमणको चेन ब्रेक नभएका कारण जोखिम रहेको मेयर भीम पराजुली बताउँछन् । ‘संक्रमणको दर कम भएको छ तर चेक ब्रेक भएको छैन,’ उनले भने, ‘लकडाउन थप गर्ने नगर्ने विषयमा विज्ञसँग छलफल गर्छाै ।’

संक्रमण नियन्त्रण गर्न आह्वान गरेर लकडाउन उल्लङ्घन भएको गुनासो आइरहेको उनले बताए । प्रशासनले लकडाउन कडा बनाएको बताउँदै उनले कोरोना नियन्त्रणका लागि लकडाउनको पालना गर्न आग्रह गरे ।

केही दिनअघि प्रदेश १ मा मुख्यमन्त्री शेरधन राईले विराटनगरको अवस्था हेरेर कफ्र्यू लगाउन सकिने बताएका थिए । जनतासँग मुख्यमन्त्री कार्यक्रममा उनले संक्रमणको दर र लकडाउन कार्यान्वयनको पक्ष अध्ययन गरेर कफ्र्यु लगाउन सकिने बताएका हुन् ।

Loading...