नेयमार लेइपजिगविरुद्ध पीएसजीको ‘मुख्य हतियार’

एजेन्सी, २ भदौ । युरोपियन च्याम्पियन्स लिगमा आज पहिलो सेमिफाइनल खेल हुँदैछ ।

पोर्चुगलको राजधानी लिस्बोनस्थित स्टेडियो डा लुजमा हुने यो खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले जर्मन क्लब आरबी लेइपजिगसँग खेल्दैछ ।

नेपाली समयानुसार राति १२ः४५ बजेबाट सुरु हुने सेमिफाइनल खेलमा दुवै टोली एक–अर्कालाई हराउँदै पहिलो पटक च्याम्पियन्स लिगको फाइनल पुग्ने योजनामा छन् । यसअघि दुवै टोली युरोपियन लिगको फाइनल पुगेका छैनन् ।

यस खेलमा पीएसजीले आफ्नो मुख्य हतियारका रूपमा ब्राजिलियन स्टार नेयमारलाई प्रयोग गर्नेछ । क्लबका प्रशिक्षक थोमस टुचेलले २८ वर्षीय नेयमारलाई मुख्य हतियार बनाउँदै लेइपजिगसँगको खेलमा विजयी हात पार्ने बताएका छन् ।

यसअघि क्वार्टरफाइनलमा इटालियन क्लब अटलान्टाविरुद्ध उनले उत्कृष्ट प्रदर्शन गरेका थिए । नेयमारको नायकत्त्वमा भएको उक्त खेलमा पीएसजीले २–१ गोलले जित्दै २५ वर्षपछि पहिलोपटक सेमिफाइनलमा स्थान बनाएको थियो ।

सो खेलमा एक असिस्ट गरेका नेयमारले खेलैभरि उत्कृष्ट ड्रिबलिङ गरेका थिए । नेयमारले अटलान्टासँगको खेलमा १६ ड्रिबल्स गरेका थिए ।

त्यसअघि बोरुसिया डर्टमुण्डसँगको दुवै लेगको खेलमा नेयमारले गोल गरेका थिए । त्यसबाहेक नेयमारले फ्रेन्च कप र फ्रेन्च लिग कप जिताउन उल्लेखनीय भूमिका खेलेका छन् ।

च्याम्पियन्स लिगलाई नै लक्षित गरी सन् २०१७ मा पीएसजीले कीर्तिमानी रकममा नेयमार भित्र्याएको थियो । अब यस खेलमा पनि नेयमारले उत्कृष्ट प्रदर्शन गर्दै पीएसजीलाई च्याम्पियन्स लिगको फाइनलमा स्थान बनाउन सहयोग गर्ने टुचेलले बताएका छन् ।

खेलको पूर्वसन्ध्यामा बोल्दै टुचेलले भनेका छन्, ‘जब म पीएसी आएको थिएँ, तब उनी मैदानका नेतृत्त्वकर्ता थिए । मानिसहरूले अपेक्षा गरेभन्दा केही फरक थिए तर उनले आफ्नो क्षमताले र आत्मबलले पीएसजीको नेतृत्त्व गरिरहेका थिए । सधैं अरुलाई मैदानमा हौसला दिन्थे ।’

‘उनी साँच्चै जितका भोका छन्, जो जित्नका लागि लड्छन् । उनी मैदानमा प्रतिस्पर्धा गर्न मन पराउँछन् । यो एउटा नेतृत्त्वकर्ताका लागि अपरिहार्य छ । यसैले उनी यो स्तरसम्म छन् । अब आज पनि उनले एक हतियारका रूपमा पीएसजीलाई उपाधि नजिक पुर्‍याउनेमा म विश्वस्त छु ।’

पीएसजी र लेइपजिगले पहिलोपटक एक–अर्काविरुद्ध प्रतिस्पधा गर्न लागेका हुन् । १२ वर्षअघि मात्र स्थापना भएको क्लब लेइपजिगले बिहीबार राति एथ्लेटिको मड्रिडलाई २–१ गोलले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो भने पीएसजीले अटलान्टामाथि २–१ गोलकै जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएको हो ।

Loading...