कोरोना महामारीले होस्टल व्यवसाय संकटमा

कोरोना महामारीले होस्टल व्यवसाय संकटमा

काठमाडौ, २ भदौ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण होस्टल व्यवसाय संकटमा परेको छ ।

हरेक वर्ष ५० हजारभन्दा बढी विद्यार्थीहरुलाई सेवा दिँदै आएको निजी क्षेत्रका होस्टल व्यवसायीहरु कोरोनाको चपेटामा परेका हुन् । कोरोना संक्रमण न्यूनीकरणका लागि जारी भएको लकडाउनपछि व्यवसाय ठप्प छन् ।

होस्टलमा विद्यार्थी नहुँदा र सरकारले समेत समस्या सम्बोधन नगर्दा घरभाडा तिर्न नै समस्या भएको व्यवासायीहरुको भनाइ छ । अहिले सबैभन्दा ठूलो समस्या घरभाडा तिर्नु रहेको नेपाल होस्टल एसोसिएसनका अध्यक्ष भक्ति पाठकले बताए ।

‘घरभाडा नै सबैभन्दा ठूलो समस्या हो । गाँस र बासको पनि समस्या छ । सञ्चालक कर्मचारी सबै समस्यामा परेका छन्,’ उनले भने । देशभरि १५ सय होस्टल व्यवसाय सञ्चालनमा रहेका छन् । जसमा आठ हजार बढी कर्मचारी र १५ हजार व्यवसायीका आश्रित परिवार छन् । सवा अर्बभन्दा बढी लगानी रहेको व्यवसायमा कोरोनाका कारण ठूलो समस्या उत्पन्न भएको उनले बताए ।

होस्टल सञ्चालनपूर्ण ऋण लिएका १५ प्रतिशत व्यवसायीहरु रहेको उनले बताए । होस्टल सञ्चालनपछि विद्यार्थीहरुले समेत समयमा शुल्क नदिँदा सञ्चालन खर्च जुटाउनसमेत ऋण लिने व्यवसायीहरुको संख्या ठूलो छ । कोरोनाले होस्टल व्यवसायी पलायन हुने अवस्थामा पुगेको उनले बताए ।

सरकारले सहुलित दरमा ऋण उपलब्ध गराएर राहत दिए व्यवसाय सञ्चालन गर्न सक्ने अवस्था हुने नभए पलायन हुदै जाने उनको भनाइ छ । घरबेटीलाई समेत अहिले भाडा छुट दिन र बाँकी रकम किस्तामा तिर्न मिल्ने गरी व्यवस्था गर्न माग गरिएको उनले बताए ।

निजी क्षेत्रका होस्टल व्यवसायीका लागि सरकारले तत्काल सुलभ व्याजदरमा ऋण उपलब्ध गराउनुपर्ने व्यवसायीहरुको माग छ । घर बहालसम्बन्धि स्पष्ट नीति राज्यले ल्याउन सके होस्टल व्यवसाय मात्रै नभएर अन्य क्षेत्रले पनि लाभ लिन सक्ने उनले बताए । दीर्घकालीनमा रुपमा निजी क्षेत्रबाट सञ्चालिन होस्टलहरुलाई विद्यालय र कलेजकै होस्टलअनुसारको मान्यता र सेवा सुविधा दिनुपर्ने उनले बताए ।

सरकारले मौद्रिक नीतिमा अन्य क्षेत्रका व्यापार व्यवसायीहरुलाई केही राहत दिए पनि होस्टल व्यवसायीहरुका लागि कुनै कार्यक्रम नआएको गुनासो व्यवसायीहरुको छ । लकडाउनपछि ठप्प रहेका व्यवसायहरु लकडाउन खुकुलो भए पनि शैक्षिक गतिविधि सुरु नुहँदा अझै सञ्चालनमा आउन सकेका छैनन् ।