Rumpum

Rumpum Advertisement

नगरपालिकाले आफैं भीटीएम किट खरिद गरी स्वाब संकलन गर्न थाल्यो

नगरपालिकाले आफैं भीटीएम किट खरिद गरी स्वाब संकलन गर्न थाल्यो

लहान, २ भदौ । सिरहाको धनगढीमाई नगरपालिकाले आफ्नै लगानीमा भीटीएम किट खरिद गरी स्वाब संंकलन गर्न थालेको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईंका अनुसार कोरोना संक्रमणबाट हुने सम्भावित खतराबाट नगरबासीलाई जोगाउने उद्देश्यले नगरपालिकाको आफ्नै लगानीमा भीटीएम किट खरिद गरी स्वाब संंकलन गर्न थालेको हो ।

नगरपालिकाका कर्मचारी, जनप्रतिनिधि, क्वारेन्टाइनमा काम गर्ने स्वास्थ्यकर्मी, समाजसेवी, व्यवसायी, बढी भीड हुने ठाउँका उद्योगी–व्यापारी, नगरपालिकाका सर्वसाधारण गरी पहिलो चरणमा १ सय ६८ जनाको स्वाब परीक्षण गरिएको उनले बताए ।

संकलित स्वाबलाई बीपी कोइराला विज्ञान प्रतिष्ठान धरानस्थित कोरोना जाँच ल्याबमा पठाइएको छ । ‘पहिलो चरणको रिपोर्ट आउन करिब ५ दिन लाग्छ, पहिलो चरणको रिपोर्ट आएपछि सोको आधारमा नगरक्षेत्रभित्र पुनः स्वाव परीक्षणको दायरा बढाउँदै जान्छौं’, स्वास्थ्य संयोजक बिलट नारायण रायले भने ।

पछिल्लो केही समयदेखि नगरक्षेत्र भित्रका गाउँहरूमा छिटफुट रूपमा कोरोना संक्रमित फेला पर्न थालिएपछि गाउँस्तरमा कोरोनाको स्थिति बुझ्नको लागि स्वाब परीक्षणको थालनी गरेको नगरपालिकाकाले जनाएको छ ।

आफ्नो निजी लगानीमा मेसिन खरिद गरी आफ्ना नगर क्षेत्रभित्रका नागरिकहरूलाई स्वाब परीक्षण गराउने सिरहामा यो पहिलो स्थानीय तह भएको बुझिएको छ ।

अहिलेसम्म सिरहामा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ भने ६० जना कोरोना संक्रमितहरू सिरहाका विभिन्न आइसोलेशनमा उपचार गराइरहेका छन् ।