Rumpum Advertisement

सात महिनामै बार्सिलोनाबाट बिदा भए सेटिन

सात महिनामै बार्सिलोनाबाट बिदा भए सेटिन

एजेन्सी, २ भदौ । बार्सिलोनाले प्रशिक्षक क्वीक सेटिनलाई छोटो अवधिमै पदबाट बर्खास्त गरेको छ । सोमबार नै बार्सिलोनाले आधिकारिक जानकारी दिँदै स्पेनिस प्रशिक्षक सेटिनलाई पदबाट बर्खास्त गरेको हो ।

१३ जनवरी २०१९ मा क्याप नोउ आएका उनले मात्र सात महिना प्रशिक्षण गराउने मौका पाए । उनी अर्नेस्टो भाल्भेर्डेको स्थानमा बार्सिलोना आएका थिए । बार्सिलोनाले भाल्भेर्डेलाई बर्खास्त गर्दै सेटिनलाई मुख्य प्रशिक्षकको जिम्मेवारी सुम्पिएको थियो ।

तर, २०१९–२० को सिजन उपाधिविहीन भएपछि बार्सिलोनाले उनलाई बर्खास्त गरेको हो । खेलाडीसँगको खराब सम्बन्ध, ला लिगा र कोपा डेल रेको उपाधि जित्न असफल र च्याम्पियन्स लिगमा लज्जास्पद हारका कारण बार्सिलोनाले यस्तो कदम चालेको हो ।

बार्सिलोनाले सोमबार आधिकारिक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘क्वीक सेटिन अब बार्सिलोनाको पहिलो टिमका प्रशिक्षक रहेनन्, क्लबको बोर्डले उनलाई बर्खास्त गर्न सहमत जनाइसकेका छन् ।’

सेटिन र बार्सिलोनाबीचको सम्झौता २०२२ सम्म थियो । तर, लगातारको खराब नतिजाका कारण उनलाई बार्सिलोनाले सात महिनामै बर्खास्त गरेको हो । सम्भवतः उनी बार्सिलोनाबाट छोटो समयमै बर्खास्त भएका प्रशिक्षक हुन् ।

६१ वर्षीय सेटिनले २५ मध्ये १६ खेलमा बार्सिलोनालाई जिताएका छन् । तर, पछिल्ला पाँच ठूलो हारका कारण उनले ७ महिनामै बार्सिलोना छोड्नु परेको हो ।

अब, बार्सिलोनाले आफ्ना पूर्वखेलाडी रोनाल्ड कोइम्यानलाई प्रशिक्षक बनाउने भएको छ । डच प्रशिक्षक कोइम्यानलाई नेतृत्त्व सुम्पिने पक्का भए पनि बार्सिलोनाले आधिकारिक पुष्टि गरेको छैन ।

खेलपत्रकार फाब्रिजियो रोमानोले सामाजिक सञ्जाल ट्वीटरमा कोइम्यान बार्सिलोनाको प्रशिक्षक बन्ने लगभग पक्का भएको जनाएका छन् । उनका अनुसार बार्सिलोनाले चाँडै नै आधिकारिक विज्ञप्ति निकाल्दै यसबारे पुष्टि गर्नेछ ।

५७ वर्षीय कोइम्याने बार्सिलोनाबाट ६ वर्ष खेलेका थिए । उनले सन् १९८९ देखि १९९५ सम्म क्याप नाउबाट खेलेका थिए । त्यसबाहेक उनले बार्सिलोनाको सहायक प्रशिक्षक भएर २ वर्ष काम गरेका थिए ।

सन् १९९८ देखि २०० सम्म उनले बार्सिलोनामा सहायक प्रशिक्षकका रूपमा काम गरे । त्यतिबेला बार्सिलोनाको मुख्य प्रशिक्षकमा लुइस भान गाल थिए । यसैगरी उनले २०१८ यता नेदरल्याण्ड्सको प्रशिक्षकमा रूपमा काम गर्दै आइरहेका छन् ।