आजदेखि सीपीएल सुरु, सन्दीपको खेल भोलि

काठमाडौं, २ भदौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पीनर सन्दीप लामिछानेले खेल्ने क्यारेबियन प्रिमियर लिग (सीपीएल) मंगलबार (आज) देखि सुरु हुँदैछ ।

ट्रिनिडाड एण्ड टोबागोमा आज राति ७ः४५ बजेदेखि सिपिएल सुरु हुनेछ, जसमा ट्रिनबागो नाइट राइडर्स र गुएना वारियर्सले खेल्नेछन् । यस्तै अर्को खेल भोलि बिहान ३ः१५ बजे बारबाडोस र सेन्ट किट्सबीच हुनेछ ।

सन्दीपले भने आफ्नो पहिलो खेल बुधबार राति ७ः४५ बजे खेल्नेछन् । सन्दीप सम्मिलित जमैका तल्लाहवाजले पहिलो खेल सेन्ट लुसियासित खेल्नेछ ।

सीपीएल खेल्न आफू निकै उत्साहित भएको सन्दीपको भनाइ छ । सामाजिक सञ्जालमार्फत आफ्नो भनाइ सार्वजनिक गर्दै उनले कोरोना महामारीका कारण लामो समयपछि क्रिकेट खेल्न पाउँदा खुशी लागेको बताएका हुन् ।

सन्दीप सीपीएलका लागि १५ साउनमा ट्रिनिडाड एन्ड टोबागो पुगेका छन् । नियमित उडान बन्द गरिएको अवस्थामा उनी कोरियन एयरको चार्टर्ड जहाजमा टोबागो गएका थिए ।
यस यामको सिपिएलका लागि जमैका तल्लावाहजले सन्दीपलाई ९० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो । उनले यसअघि दुई पटक सीपीएल खेलिसकेका छन ।

सीपीएल २५ भदौसम्म चल्ने छ । सीपीएलमा जमैकासँगै बार्बेडोस् ट्रिडेन्ट्स, ट्रिनबागो नाइट राइडर्स, गुएना अमेजन वारियर्स, सेन्ट लुसिया जौउक्स र सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्सले प्रतिस्पर्धा गर्दैछन् ।

सीपीएलमा कूल ३३ खेल हुने छन् । कोरोना भाइरसका कारण ती सबै खेल बिना दर्शक खेलाइने छन् ।

Loading...