जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुखलाई कोरोना संक्रमण

विराटनगर, २ भदौं । जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

कोभिड १९ उपचार केन्द्रको व्यवस्थापन हेर्दै आएका बस्नेतलाई मंगलबार कोरोना संक्रमण पुष्टि भएको हो । उनीसँगै स्वास्थ्य कार्यालयका अर्का एक कर्मचारीमा पनि संक्रमण पुष्टि भएको छ ।

यसअघि सोही कार्यालयका जनस्वास्थ्य निरीक्षकलाई संक्रमण पुष्टि भएको थियो । उनी गोठगाँउ आइसोलेशन केन्द्रमा खटिएका थिए ।

बस्नेत केही दिनयता क्वारेन्टाइनमा थिए । ‘संक्रमणको शंका लागेपछि क्वारेन्टाइनमा बसेर स्वाब दिएकाे थिए, पोजेटिभ रिपोर्ट आयो,’ उनले भने, ‘मेरो अवस्था सामान्य छ । क्वारेन्टाइनमै बसेर काम गरिरहेको छु ।’

बस्ननेतसहित कार्यालयमा काेराेना संक्रमित कर्मचारीकाे संख्या तीन पुगेकाे छ । एक साताअघि संक्रमण देखिएका कर्मचारी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत छन् । बस्नेत र अर्का एक कर्मचारी होम आइसोलेसनमा छन् ।

कोरोना संक्रमितको व्यवस्थापनमा नियमित खटिएका कारण कहाँबाट संक्रमण भयो भन्न नसकिने बस्नेतले बताए । ‘समुदायमा संक्रमण पुगेको छ । संक्रमण स्रोत भेट्नै गाह्रो,’ उनले भने, ‘फ्रन्टलाइनमा रहेर काम गर्दा संक्रमण भयो ।’

Loading...