वीपी प्रतिष्ठानमा तीनजनामा कोरोना संक्रमण

धरान, २ भदौ । धरानस्थित वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान धरानमा कार्यरत एक नर्स र उपचारका लागि आएका दुई महिलासहित तीनजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिष्ठानको बच्चा विभागमा कार्यरत एक नर्स तथा श्वासप्रश्वासको समस्या लिएर उपचारका लागि प्रतिष्ठान आएकी धनुषाकी २९ वर्षीय गर्भवती महिला र सोही जिल्लाबाट पाठेघरको शल्यक्रिया गर्न आएकी अर्की ३५ वर्षीय महिलामा कोरोना संक्रमण देखिएको प्रतिष्ठानले जनाएको छ ।

उपचारका लागि आएका दुई महिलाको उपचारअघि पीसीआर परीक्षण गर्दा संक्रमण देखिएको थियो । नर्समा भने यसअघि एमआईसीयूमा कार्यरत नर्सहरुमा संक्रमण देखिएसँगै कन्ट्याक ट्रेसिङका आधारमा उनले स्वाब संकलन गरिएको र उनको रिपोर्ट पोजेटिभ आएको बताइएको छ ।

संक्रमित सबैलाई कोभिड –१९ अस्पतालको आइसोलेसनमा सारिएको र वार्डलाई सेनिटाइज गरिएको छ ।

Loading...