राष्ट्रिय झण्डा जलाएको म्युजिक भिडियो युट्युबमा, कारवाहीको माग

विराटनगर, २ भदाैं । नेपाली राष्ट्रिय झण्डा जलाएको म्युजिक भिडियो युट्युबमा सार्वजनिक भएपछि सामाजिक सञ्जालमा कारवाहीको माग उठेको छ ।

नेपालको राष्ट्रियता र जातीय सद्भावका बारेमा आपत्तिजनक शब्द प्रयोग गरिएको भिडियोमा नेपालको झण्डा जलाइएको छ । सोमबार युट्युबमा सार्वजनिक भएको भिडियो पछिल्लो समय भाइरल बनेको छ । भिडियो सार्वजनिक भएलगतै कारवाहीको माग उठेको हो ।

‘मंगोल हप अफिसियल’ नामक च्यानलमा ‘देशद्रोही’ शीर्षकको गीत सार्वजनिक भएको थियो । आपत्तिजनक शब्द प्रयोग गरी जातीय सदभाव खलबल्याउने शब्द प्रयोग भएको गीतमा राष्ट्रिय झण्डा जलाएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले कारवाही गर्न नेपाल प्रहरीलाई आग्रह गरेका छन् । 

गीतमा र्यापरको नाम गोल ग्याल्ज ली एन्ड एटीएम उल्लेख छ । म्युजिक भिडियोको विवरण पनि उल्लेख छैन् ।

गीतको म्युजिक भिडियो मकवानपुर जिल्लाको बाग्मती गाउँपालिकास्थित श्री विष्णु आधारभूत विद्यालय क्षेत्रमा सुटिङ गरिएको भिडियोमा देख्न सकिन्छ । भिडियोमा नेकपा नेता र  पूर्वराजा ज्ञानेन्द्र साहको तस्बिर पनि जलाइएको देखाइएको छ ।

Loading...