Rumpum

Rumpum Advertisement

सामाजिक सञ्जालमार्फत् निर्मलालाई न्याय माग्दै नेपाली कलाकार

सामाजिक सञ्जालमार्फत् निर्मलालाई न्याय माग्दै नेपाली कलाकार

विराटनगर, २ भदौ । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको न्यायका लागि नेपाली कलाकारहरूले सामाजिक सञ्जालमार्फत् सरकारलाई दबाब दिन थालेका छन् ।

शनिबार साँझदेखि प्रधानमन्त्री केपी शर्मा ओलीलगायत नेपालका शीर्ष नेता, पत्रकार तथा नाम चलेका मानिसहरूको प्रोफाइल फोटोमा प्रयोगकर्ताहरूले निर्मला पन्तलाई न्याय दिन माग गर्दै कमेन्ट गरेर थालेको ‘डिजिटल आन्दोलन’ लाई कलाकारहरूले पनि साथ दिएका हुन् ।

अभिनेत्री रेखा थापाले निर्मलाले न्याय नपाउनु छोरीहरूको मनमा भय चलाउनु र लाखौं किशोरीका आमा–बुवामाथि एउटा डर लाद्नु बताउँदै आफ्नो फेसबकमा पोष्ट गरेकी छिन् । रेखासँगै दीपाश्री निरौला, केकी अधिकारी, प्रियंका कार्की, आयुष्मान देशराज जोशी, अनुपविक्रम शाही, वर्षा सिवाकोटी, सन्ध्या केसी, वर्षा राउत, बेनिशा हमाललगायतले पनि आफ्नो फेसबुक तथा इन्स्टाग्राममार्फत् निर्मलाको न्यायको माग गरेका छन् ।

करिब दुई वर्षअघि कञ्चनपुरकी १३ वर्षीय निर्मला पन्त घरनजिकैको उखुबारीमा मृत फेला परेकी थिइन् । उनको बलात्कारपछि हत्या भएको खुलेको थियो । बलात्कारपछि हत्या भएको निर्मला पन्तको हालसम्म हत्यारा पत्ता लाग्न सकेको छैन ।