फिलिपिन्सपछि मेक्सिकोका राष्ट्रपति पनि रुसको खोप लगाउन तयार

विराटनगर, २ भदौ । मेक्सिकोका राष्ट्रपति आन्द्रेज मनेवेल लोपेज ओबराडोरले रुसले निर्माण गरेको कोरोना भाइरसविरुद्धको खोपको प्रयोग आफैंबाट सुरुवात गर्ने बताएका छन् ।

ओबराडोरले खोप प्रभावकारी सावित भएको खण्डमा खोपको प्रयोग गरी आफू सबैभन्दा पहिला खोप लगाउने व्यक्तिहरूमध्येको एक हुने बताएका हुन् । यसअघि फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले आफू रुसको खोप प्रयोग गर्नका लागि तयार रहेको बताएका थिए ।

दुई महिनाको परीक्षणपछि कोरोना भाइरसको खोपको लागि अनुमति पाएको रुसमा खोपको पहिलो चरणको उत्पादन पनि भइसकेको छ । मेक्सिको र अर्जेन्टिनाको सरकारले औषधि निर्माता कम्पनी एक्स्ट्राजेनेकासँग मिलेर खोप उत्पादनको काम गरिरहेका छन् । खोपको तेस्रो चरणको मानवीय परीक्षण अबको ७ देखि १० दिनभित्र सुरु गरिने बताइएको छ ।

तेस्रो चरणको क्लिनिकल परीक्षण सफल भएमा मेक्सिकोलाई कोरोना भाइरसविरुद्धको खोपको २० करोड डोज आवश्यक पर्ने मेक्सिकोका उपविदेशमन्त्री बताएका छन् । तर, कम समयमा खोपको उत्पादनलाई अनुमति दिएको भन्दै खोको प्रभावकारितामा अन्तर्राष्ट्रियरुपमा आशंका उत्पन्न भएको छ । रुसले खोप निर्माणको क्रममा सुरक्षालाई भन्दा पनि राष्ट्रिय प्रतिष्ठालाई प्राथमिकता दिएको आरोप छ ।

Loading...