चौधरी फाउन्डेसनले दियो भेन्टिलेटर

विराटनगर, २ भदौ । कोरोना भाइरस संक्रमितको उपचारमा समस्या भइरहेका बेला प्रदेश १ सरकारलाई व्यापारिक घरना सिजी ग्रुपको चौधरी फाउन्डेसनले पोर्टेवल भेन्टिलेटर हस्तान्तरण गरेको छ ।

विराटनगरमा मंगलबार विहान आयोजित कार्यक्रममा सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई चौधरी ग्रुपका बरिष्ठ प्रबन्धक रामजी कटुवालले भेन्टिलेटर हस्तान्तरण गरेका हुन् । मन्त्री घिमिरेले कोरोना नियन्त्रण सरकारबाट मात्रै सम्भव नभएकाले सबैको सहाकार्य आवश्यक रहेको बताए । सबैको सहकार्यमा कोरोनालाई नियन्त्रण गर्न सकिने उनले बताए ।

मन्त्री घिमिरेले संक्रमण बढेका स्थानहरुमा कोरोना नियन्त्रणका कामहरु भइरहेको जानकारी दिए । संक्रमण बढेसँगै प्रदेश सरकारले परीक्षणका लागि प्राथमिकता निर्धारण गरेको उनले बताए । लक्षित समूहको परीक्षण गर्नेगरी प्राथमिकता निर्धारण गरिएको मन्त्री घिमिरेको भनाइ छ ।

चौधरी फाउन्डेसनले देशभरि आठवटा पोर्टेवल भेन्टिलेटर हस्तान्तरण गर्ने योजना रहेको प्रबन्धक कटुवालले बताए । उनले प्रदेश सरकारले सञ्चालन गरेको कोभिड अस्पताललाई भेन्टिलेटर हस्तान्तरण गर्ने कार्यक्रमअन्तर्गत कोशी कोभिडलाई उपलब्ध गराईएको बताए ।

फाउन्डेसनले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई पनि एउटा पोर्टेवल भेन्टिलेटर उपलब्ध गराउने जानकारी कटुवालले दिए । यसअघि ग्रुपले मुलुकका विभिन्न स्थानमा कोरोना नियन्त्रणका लागि पीपीईलगायतका स्वास्थ्य सामग्री र कोरोना पीडितलाई राहत पनि हस्तान्तरण गरिसकेको छ ।

Loading...