वीपीमा प्लाज्मा थेरापीबाट संक्रमितको उपाचार सुरु, संक्रमितलाई घृणाको दृष्टिले हेर्न हुँदैन : डा. सापकोटा

विराटनगर, २ भदौ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पहिलो पटक कोरोना भाइरसका संक्रमितको उपचार प्लाज्मा थेरापी पद्दतिबाट गर्न थालिएको छ ।

काठमाडौंपछि पहिलो पटक वीपीमा यो पद्दतिबाट संक्रमितको उपचार थालिएको हो । सोमबारराति धरानकै ६८ वर्षीय संक्रमित पुरुषलाई उपचारका क्रममा प्लाज्मा दिइएको छ । साउन ३० गते वीपीको कोभिड–१९ अस्पतालको आइसोलेसनमा भर्ना भएका ती पुरुष आईसीयूमा उपचाररत छन् ।

स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई राति १० बजेबाट एक घण्टा लगाएर प्लाज्मा दिइएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । प्लाज्मा दिएको १० घण्टा हुन लागे पनि ती पुरुषको स्वास्थ्यमा कस्तो सुधार भइरहेको छ भन्नलाई केही समय लाग्ने उनको भनाइ छ ।

रेडक्रसको समन्वयमा एकजना निको भइसकेका संक्रमित पुरुषले उनका लागि प्लाज्मा दिएको डा. सापकोटाले बताए । उनकाअनुसार यो पद्दतिबाट उपचार गर्दा निको भइसकेका संक्रमित पुरुषबाट प्लाज्मा लिएर स्वास्थ्य अवस्था गम्भीर बनेका संक्रमितलाई दिने गरिन्छ । निको भइसकेका संक्रमितको रगत लिएर सेल र कोषिका छुट्याएर अलग गरेपछि बाँकी रहेको तरल पदार्थ प्लाज्मा हो ।

वीपीमा प्लाज्मा थेरापीबाट संक्रमितको उपचार सुरु भएपछि स्वास्थ्य अवस्था गम्भीर बनेका संक्रमितको उपचारमा थप सहजता हुने आशा पलाएको छ । प्लाज्मा थेरापी सफलत उपचार पद्दति रहेको बताउँदै डा. सापकोटोले यसअघि पनि अरु रोगका बिरामीको प्लाज्मा थेरापीबाट उपचार हुँदै आएकाले यो विधि नौलो नभएको जानकारी दिए । तर विश्वमै महामारीको रुप लिएको कोरोना संक्रमणका लागि भने नयाँ उपचार पद्धती हो ।

‘समाजमा कोरोना संक्रमितलाई हेर्ने दृष्टिकोण फरक छ । निको भएर घर गइसकेका संक्रमितलाई पनि घृणा र हेयको दृष्टिले हेरिन्छ,’ उनले भने, ‘तर निको भइसकेका बिरामीलाई त्यस्तो व्यवहार गर्न हुँदैन । बरु निको भइसकेका संक्रमितहरु हाम्रा लागि रोग निको पार्ने औषधि हुन् भन्ने बुझ्नु पर्छ ।’

समाजमा देखिएको नयाँ संक्रमणसम्बन्धी समस्याको समाधान हुने भएकाले कसैले पनि आफू आत्तिने र अरुलाई अत्याउने गर्न नहुने बताउँदै उनले उपचारमा सहजता ल्याउने प्रयास भइरहेको जानकारी दिए । डा. सापकोटा बरिष्ठ मानसिक रोग विशेषज्ञ हुन् ।

Loading...