Rumpum

Rumpum Advertisement

सिल्भा रियल सोसिडाडमा अनुबन्ध

सिल्भा रियल सोसिडाडमा अनुबन्ध

एजेन्सी, २ भदौ । स्पेनिस स्टार डेभिड सिल्भा स्पेन फर्किएका छन् । हालै म्यानचेस्टर सिटी छोडेका सिल्भालाई स्पेनिस क्लब रियल सोसिडाडले अनुबन्ध गरेको हो ।

सिटीका पूर्वस्टार सिल्भाले ला लिगा क्लब सोसिडाडसँग २ सिजनका लागि सम्झौता गरेका छन् ।

सिटी गत शनिबार लियोनसँग पराजित हुँदै च्याम्पियन्स लिगबाट बाहिरिएसँगै सिल्भाको इतिहादको दस वर्षे बसाइ सकिएकाे थियो । उनले गत मे महिनामा सिटी छोड्ने निर्णय गरेका थिए । 

सिटी छोडेपछि उनलाई सिरी ‘ए’ क्लब लाजियोले अनुबन्धन गर्न प्रस्ताव राखेको थियो । तर, उनी पुनः स्पेनिस क्लब फर्किएका हुन् । ३४ वर्षीय विश्वकप विजेता १४ जुलाई २०१० मा स्पेनिस क्लब भ्यालेन्सियाबाट सिटी आएका थिए ।

सन् २०१० को विश्वकप जितेसँगै सिटीमा आवद्ध भएका थिए । सिटीमा अनुबन्ध भएका उनले त्यहाँबाट धेरै कीर्तिमान बनाएका थिए ।

उनी सिटीमा अनुबन्ध भएका पहिलो विश्वकप विजेता खेलाडी पनि हुन् । त्यसबाहेक उनी प्रिमियर लिगमा सबैभन्दा छिटो २०० खेल जित्ने खेलाडीसमेत बनेका थिए ।

सिटीबाट ४३३ खेल खेलेका उनले चार प्रिमियर लिग, दुई एफए कप र पाँच लिग कपको उपाधि जितेका छन् । उनले सिटीबाट ७७ गोल र १४० गोलमा पास मिलाएका छन् ।

यस सिजनको प्रिमियर लिगमा उनले २६ खेल खेल्दा ६ गोल र १० असिस्ट गरेका छन् । उनले राष्ट्रिय टोली भने सन् २०१८ मै छोडेका थिए ।