फराकिलो जितसहित इन्टर फाइनलमा, उपाधिका लागि सेभिल्लासँग खेल्ने

एजेन्सी, २ भदौ । इटालियन क्लब इन्टर मिलना युरोपको दोस्रो ठूलो क्लब फुटबल प्रतियोगिता युरोपा लिगको फाइनलमा पुगेको छ ।

सोमबार राति भएको दोस्रो सेमिफाइनलमा युक्रेनको क्लब शख्तर डोनेस्कमाथि ५–० गोलको फराकिलो जित निकाल्दै इन्टर उपाधि नजिक पुगेको हो ।

जर्मनस्थित स्प्रिट एरिनामा भएको खेलमा इन्टरलाई जिताउन लाउटारो मार्टिनेज र रोमेलु लुकाकुले समान दुई–दुई गोल गरे भने डेनिलो डी‘एम्ब्रासियोले एक गोल गरे ।

इन्टरले पहिलो हाफमा १–० गोलको अग्रता बनाएको थियो । दोस्रो हाफमा भने उसले चार गोल थप्यो । खेलको १९औं मिनेटमा मार्टिनेजले गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए ।

खेलको ६४औं मिनेटमा डी‘एम्ब्रोसियोले गोल गरेपछि इन्टरले आफ्नो अग्रता दोब्बर बनायो । ७४औं मिनेटमा मार्टिनेजले व्यक्तिगत दोस्रो गोल गर्दै इन्टरलाई ३–० गोलको अग्रता दिलाए ।

त्यसको पाँच मिनेट नबित्दै लुकाकुले गोल गर्दै इन्टरलाई ४–० गोलले अगाडि बढाए । पुनः पाँच मिनेटपछि लुकाकुले व्यक्तिगत दोस्रो तथा क्लबका लागि पाँचौं गोल गर्दै इन्टरलाई ५–० गोलको फराकिलो जित दिलाए ।

यससँगै इन्टरले सेभिल्लासँग भेट पक्का गरेको छ । सेभिल्ला आइतबार राति भएको पहिलो क्वार्टरफाइनल खेलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमाथि २–१ गोलको जित निकाल्दै फाइनलमा प्रवेश गरेको हो ।

अब, इन्टर र सेभिल्लाले २१ अगस्टमा उपाधिका लागि खेल्नेछन् ।

Loading...