निगमका एक तिहाइ कर्मचारी जगेडामा

विराटनगर, २ भदौ । कर्मचारीमा कोरोना भाइरसको सङ्क्रमण देखिन थालेपछि नेपाल आयल निगमले कर्मचारी जगेडामा (ब्याकअप) राख्न थालेको छ ।

आफ्ना कर्मचारीमध्ये ३३ प्रतिशतलाई ब्याकअपमा राखेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । सुरक्षाका लागि हरेक कार्यालयमा केन्द्रले अनुगमन बढाएको पनि जानकारी उनले दिए ।

तीन दिनअघि भैरहवा डिपोका ११ जना कर्मचारीमा कोरोना भाइरस पोजेटिभ देखिएपछि निगमले देशभरका कार्यालयमा सतर्कता बढाएको हो । निगमले विज्ञप्ति जारी गरी भैरहवा डिपो पाँच दिनका लागि बन्द गरी पाँच दिनपछि ट्याङ्कर चालक र सहचालकको पीसीआर परीक्षण गर्ने व्यवस्था गरेको छ । कोरोनाको सङ्क्रमण देखिएकालाई आइसोलेसनको व्यवस्था गरेको छ ।

भैरहवाको डिपो बन्द अवधिभर त्यस क्षेत्रका डिलरका लागि आवश्यक पेट्रोलियम पदार्थ अमलेखगञ्ज डिपोबाट ढुवानी गराई भैरहवा डिपोमा स्टक ट्रान्सफर गर्ने र त्यहाँ रहेका मौजुदा कर्मचारीबाट बिक्री वितरणको व्यवस्था मिलाएको छ । पेट्रोल पम्प र हवाई इन्धनसम्बन्धी निकायसँग समन्वय गरी सात दिन बन्द गर्न भैरहवा डिपोलाई निर्देशन गरेको छ ।
कोरोना भाइरसको महामारीमा सहज र सरल ढङ्गले पेट्रोलियम पदार्थ प्राप्त होस् भन्ने हेतुले सरकारले तोकेको मापदण्ड अपनाई पूर्वतयारी साथ काम गरिएको उपाध्यायको भनाइ छ । आजको गोरखापत्र दैनिकमा समाचार छ

Loading...