विकास आयोजनाको कार्यान्वयन सफल

विराटनगर, २ भदौ । भारतीय सहयोगमा नेपालमा सञ्चालित आयोजनाको कार्यान्वयन सफल रहेको निष्कर्ष नेपाल र भारत संयुक्त निरीक्षण संयन्त्र (ज्वाइन्ट ओभरसाइट मेकानिजम) बैठकले निकालेको छ ।

भारतीय सहयोग द्विपक्षीय सहकार्यमा बनेका विकास आयोजनाको समीक्षा गर्दै ती आयोजना नेपालमा सफल कार्यान्वयनमा रहेको निष्कर्ष आइतबारको संयुक्त बैठकले निकालेको हो । सोमबार भर्चुअल रूपमा बसेको बैठकमा नेपालका तर्फबाट परराष्ट्र सचिव शङ्करदास वैरागी र भारतका तर्फबाट नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले नेतृत्व गरेका थिए ।

बैठकले नेपाल–भारतबीच भारतीय सहयोगमा निर्माण भएका र निर्माणाधीन आयोजनाको कार्यान्वयनको गहन समीक्षा गरेको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले जानकारी दिए , “नेपालमा कार्यान्वयनमा रहेका धेरै आयोजना सहज रूपमा अगाडि बढेको पाइयो, कुनैमा सानातिना अवरोध छ भने त्यसलाई हटाएर अगाडि बढ्ने समहति भएको छ,” पौडेलले स्पष्ट पारे ।

बैठकमा नेपाल–भारत द्विपक्षीय सहयोगअन्तर्गत तराई सडक, सीमापार रेलमार्ग, अरुण तेस्रो जलविद्युत् परियोजना, पेट्रोलियम पदार्थ पाइपलाइन, पञ्चेश्वर बहुउद्देश्यीय परियोजना, भूकम्पपश्चात् नेपाल–भारत द्विपक्षीय सहयोगअन्तर्गत चलिरहेका आयोजनाको कार्यान्वयनको अवस्था बारेमा छलफल भएको थियो । पुनर्निर्माण, सिँंचाइ, विद्युत् र प्रसारण लाइन, नेपाल पुलिस एकेडेमीको निर्माण, एकीकृत चेकपोस्ट, रामायण सर्किट, महाकाली नदीमा मोटरेबल पुल, कृषि र सांस्कृतिक सम्पदा लगायतका कार्यक्रमका बारेमा समीक्षा गरिएको थियो । आजको गोरखापत्र दैनिकमा समाचार छ

Loading...