प्रदेश १ मा कोरोना परीक्षणलाई व्यवस्थित बनाइने

विराटनगर, १ भदौ । प्रदेश १ मा कोरोना भाइरस परीक्षणलाई व्यवस्थित बनाइने भएको छ । प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार सामाजिक विकास मन्त्री जीवन घिमिरेको अध्यक्षतामा आइतबार बसेको बैठकले कोरोना संक्रमणको दर बढेसँगै सीमित क्षमतालाई ध्यान दिँदै पीसीआर परीक्षणलाई व्यवस्थित र वैज्ञानिक बनाउने निर्णय गरेको हो ।

मन्त्रालयले कोभिड–१९ संक्रमण परीक्षणका प्राथमिकीकरण निर्धारण गरेको छ । मन्त्रालयले सघन उपचार कक्षमा उपचाररत र सिकिस्त ब्रिामीहरू, कोभिड–१९ जस्तै लक्षण भई शंकास्पद कारणले मृत्यु भएका व्यक्तिहरू, चिकित्सकको सल्लाहबमोजिम लक्षण देखिएका व्यक्तिहरू, कुनै किसिमको शल्यक्रिया गर्नुपर्ने बिरामीहरूलाई प्राथामिकतामा राखिएको प्रदेश अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखा प्रमुख सागर प्रसाइँले बताए ।

उनले संक्रमित व्यक्तिको प्रत्यक्ष सम्पर्कमा आएका परिवारका सदस्यहरू न्यूनतम ५ दिन होम आइसोलेशन बसेपछि, संक्रमितसँग १५ मिनेटभन्दा बढी एक मिटर दुरी कायम नगरी प्रत्यक्ष सम्पर्कमा रहेका व्यक्ति न्यूनतम ५ दिन होम आइसोलेसन बसेपछि पीसीआर परीक्षणको प्राथमिकतामा राखिएको बताए ।

विदेशबाट आएर न्यूनतम पाँच दिन क्वारेन्टाइनमा बसेका व्यक्तिहरू र कोभिड–१९ संक्रमण व्यवस्थापनका लागि फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी, सूरक्षाकर्मी तथा अन्य कर्मचारीहरू पीसीआर परीक्षणको प्राथमिकतामा पर्ने महाशाखा प्रमुख प्रसाइँले बताए ।

प्रदेश १ मा रहेका ४ वटा प्रयोगशालाहरू कोशी अस्पताल, प्रदेश प्रयोगशाला, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र मेची अञ्चल अस्पतालबाट पीसीआर परीक्षण हुँदै आएको छ ।

आजसम्म ६७ हजार १ सय ७८ पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये २ हजार ९२ मा कोरोना संक्रमण देखिएको छ ।

Loading...