विदेशबाट हुने उद्धार उडान पुनः स्थगित

काठमाडौं, १ भदौ । कोरोना महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीको उद्धारका लागि चार्टर उडान स्थगित भएको छ । सरकारले कामदारको उद्धारका लागि तय भइसकेका चार्टर्ड उडान अनिश्चितकालका लागि स्थगित गरेको हो ।

कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) ले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई अन्तर्राष्ट्रिय उद्धार उडानहरू स्थगित गर्न पत्र लेखेपछि सरकारले चार्टर्ड उडान स्थगित गरेको हो ।

यसअघि सरकारले १ भदौदेखि आन्तरिक र अन्तर्राष्ट्रिय व्यवसायिक उडान खोल्ने घोषणा गरेको भएपनि कोभिडको महामारी राजधानी काठमाडौंसहित देशका विभिन्न स्थानमा तीव्र रूपमा फैलिएपछि १४ भदौसम्म व्यवसायिक उडान स्थगन गर्ने निर्णय गरेको थियो ।

गत सोमबारको मन्त्रिपरिषद्को बैठकले दैनिक ५ सय जना उद्धार गर्ने निर्णय गरेको थियो । तीमध्ये २०० जनालाई सरकारले आफ्नै खर्चमा ल्याउने तथा ३०० जना आफैँ टिकट काटेर आउने बताइएको थियो ।

स्वदेश फर्कने नेपाली सम्बन्धित मुलुकमा रहेका नेपाली दूतावासले गरेको सिफारिसका आधारमा नेपाल ल्याइने बताइएको थियो । त्यसरी फर्किने कामदारलाई काठमाडौंमै ७ दिनसम्म राखेर पीसीआर गरेर मात्रै घर जान दिने निर्णय मन्त्रिपरिषदले गरेको थियो ।

तर, त्यसरी उद्धार गरिएकालाई राख्न होटल व्यवस्थापन नभएको भन्दै सीसीएमसीले नै मन्त्रालयलाई उद्धार उडान स्थगित गर्न भनेको हो । यता, नेपाल एयरलाइन्सले पनि सूचना निकालेर उडानहरू स्थगित भएको जानकारी दिएको छ ।

सीसीएमसी को विवरणअनुसार २९ साउनसम्म विदेशबाट फर्कने नेपालीको संख्या ५० हजार ६६२ रहेको छ ।

Loading...