एसईई नतिजा प्रकाशित, यसरी हेर्न सकिन्छ रिजल्ट

काठमाडौं, १ भदौ । २०७६ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको नतिजा सार्वजनिक भएको छ ।

कोरोना महामारी सुरु भएपछि सरकारले अन्तिम समयमा परीक्षा स्थगित गरेपछि पहिलोपटक विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा नतिजा सार्वजनिक गरिएको हो ।

बोर्डका अध्यक्ष डा. चन्द्रमणि पौडेलले ४ लाख ८२ हजार ९ सय ८६ जनाले परीक्षा फाराम भरे पनि राष्ट्रिय परीक्षा बोर्डले ४ लाख ७२ हजार ७८ जनाको प्रमाणित प्राप्तांकको नतिजा सार्वजनिक गरेको जानकारी दिए ।

२०७६ साल चैत ६ गतेदेखि गर्ने तयारी भएको एसईई परीक्षा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोरोना भाइरस रोकथामसम्बन्धी उच्चस्तरीय समन्वय समितिले अघिल्लो दिन स्थगित गरेको थियो ।

महामारी नरोकिएपछि जेठ २८ गते बसेको मन्त्रिपरिषद् बैठकले यस वर्षको परीक्षा विद्यालयको आन्तरिक मूल्यांकनको आधारमा ग्रेड निर्धारण गरेर सार्वजनिक गर्ने निर्णय गरेको थियो ।

१९९० सालदेखि हुँदै आएको एसएलसी (हालः एसईई) परीक्षा पहिलोपटक परीक्षा नै नगरी आन्तरिक मूल्यांकनका आधारमा सार्वजनिक गरिएको हो । यसपटक पुनर्योग तथा पुरक ग्रेड वृतिको परीक्षा नहुने डा. पौडेलले जानकारी दिए ।

बोर्डले विद्यालयबाट प्राप्त भएको नतिजालाई प्रमाणिकरण गरिएकाले जीपीए विश्लेषण गरेको छैन । बोर्डले तीन जना परीक्षार्थीको नतिजा भने रोकेको छ । प्राविधिक कारणले रोकिएको बोर्डको भनाइ छ ।

डा. पौडेलले आन्तरिक मूल्यांकनका आधारमा नतिजा सार्वजनिक गरेकाले यसपटक विगतकोभन्दा नतिजा राम्रो आएको बताएका छन् ।

यसैगरी नेपाल टेलिकमको १६०० मा डायल गरेर निर्देशनबमोजिम नतिजा थाहा पाउन सकिन्छ ।

यस्तै नेपाल टेलिकम र एनसेलको १६०० र इजी सर्भिसको ३४९४९ नम्बरमा एसएमएस गरेर पनि नतिजा प्राप्त गर्न सकिन्छ ।

माध्यमिक शिक्षा परीक्षा कक्षा १०, राष्ट्रिय परीक्षा बोर्ड, शिक्षा तथा मानव विकास केन्द्र, नेपाल दुरसञ्चार प्राधिकरण वा एनसेलको वेभसाइटमा गएर पनि नतिजा हेर्न सकिने बोर्डले जनाएको छ ।

Loading...