बार्सिलोनाका प्रशिक्षकमा रोनाल्ड कोइम्यान

एजेन्सी, १ भदौ । स्पेनिस क्लब बार्सिलोनाले आफ्ना पूर्वखेलाडी रोनाल्ड कोइम्यानलाई प्रशिक्षक बनाउने भएकाे छ ।

बीबीसीका अनुसार क्वीक सेटिनलाई बर्खास्त गर्दै बार्सिलोनाले डच प्रशिक्षक कोइम्यानलाई नेतृत्त्व सुम्पिने भएकाे हो ।

खेलपत्रकार फाब्रिजियो रोमानोले सामाजिक सञ्जाल ट्वीटरमा काेइम्यान बार्सिलोनाकाे प्रशिक्षक बन्ने लगभग पक्का भएकाे जनाएका छन् । उनका अनुसार बार्सिलोनाले चाँडै नै आधिकारिक विज्ञप्ति निकाल्दै यसबारे पुष्टि गर्नेछ ।

५७ वर्षीय काेइम्याने बार्सिलोनाबाट ६ वर्ष खेलेका थिए । उनले सन् १९८९ देखि १९९५ सम्म क्याप नाउबाट खेलेका थिए । त्यसबाहेक उनले बार्सिलोनाकाे सहायक प्रशिक्षक भएर २ वर्ष काम गरेका थिए ।

सन् १९९८ देखि २०० सम्म उनले बार्सिलोनामा सहायक प्रशिक्षकका रूपमा काम गरे । त्यतिबेला बार्सिलोनाकाे मुख्य प्रशिक्षकमा लुइस भान गाल थिए ।

यसैगरी उनले २०१८ यता नेदरल्याण्ड्सको प्रशिक्षकमा रूपमा काम गर्दै आइरहेका छन् ।

यसै सिजन क्याप नोउ आएका ६१ वर्षीय सेटिनलाई बार्सिलोनाले पदबाट बर्खास्त गरेको बीबीसीले जनाएको छ ।

आइतबार राति स्पेनको एक रेडियोसँग कुरा गर्दै क्लबका अध्यक्ष जोसेप मारिया बार्टोमेउले उनलाई बर्खास्त गरेको पुष्टि गरेका थिए । उनले सोमबारको बार्सिलोनाको विशेष बैठकमा यो निर्णय गरिने पनि जनाएका थिए ।

यद्यपि, यसबारे बार्सिलोनाले आधिकारिक पुष्टि गरेको छैन ।

यसै जनवरीमा बर्खास्तमा परेका अर्नेस्टो भाल्भेर्डेको स्थानमा आएका सेटिनले बार्सिलोनामा मात्र ७ महिना बिताए । उनले नेतृत्त्व गरेको सिजन बार्सिलोना उपाधिविहीन बन्यो ।

बार्सिलोनाले आफ्नो चीरप्रतिद्वन्द्वी क्लब रियल मड्रिडलाई ला लिगाको उपाधि सुम्पियो भने च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा जर्मन क्लब बायर्न म्युनिखसँग ८–२ गोलान्तरको लज्जास्पद हार ब्यहारेको थियो ।

Loading...