पीएसजीलाई लेइपजिगका प्रशिक्षकले दिए चेतावनी

एजेन्सी, १ भदौ । च्याम्पियन्स लिगमा भिडनुअघि जर्मन क्लब आरबी लेइपजिगका प्रशिक्षक जुलियन नेगेल्सम्यानले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई चेतावनी दिएका छन् ।

फाइनल प्रवेशका लागि फ्रेन्च च्याम्पियन क्लबसँग भिड्नुअघि नेगेल्सम्यानले पीएसजीलाई च्याम्पियन्स लिगबाट आउट गर्ने जुक्ति आफूहरूसँग रहेको भन्दै चेतावनी दिएका हुन् ।

मंगलबार पीएसजी र लेइपजिग फाइनल प्रवेशका लागि खेल्दैछन् । पोर्चुगलको राजधानी लिस्बोनस्थित स्टेडियो डा लुजमा हुने यो खेल मंगलबार राति १२ः४५ बजेबाट सुरु हुनेछ ।

लेइपजिगले बिहीबार राति एथ्लेटिको मड्रिडलाई २–१ गोलले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो भने पीएसजीले अटलान्टामाथि २–१ गोलकै जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएको हो ।

यस खेलअघि ३३ वर्षीय प्रशिक्षक नेगेल्सम्यानले पीएसजीमाथि दबाब सिर्जना गर्न आफूहरू तयार रहेको बताए ।

‘सामूहिक रूपमा काम गर्नु महत्त्वपूर्ण हुन्छ । सबैभन्दा पहिले हामीले उनीहरूको प्रहार रोक्नु जरुरी छ । उनीहरू विपक्षीको डिफेन्स चेनअगाडि खेल्न चाहन्छन् । र, हामीले यी ठाउँहरू कसरी बन्द गर्न सकिन्छ भन्ने धारणा लिएर आएका छौं । उनीहरूलाई आउट गरिदिनसक्ने जुक्ति हामीसँग छ,’ उनले भने ।

‘जे होस् उनीहरूसँग अतुलनीय क्षमता छ । विशेषगरी उनीहरू तीब्र गतिका छन् । त्यहाँका केही खेलाडीलाई रोक्न कठिन हुन्छ । त्यसमध्ये एम्बाप्पे पनि एक हुन्, जो प्रतिघण्टा एक किलोमिटर छिटो छन् । म विश्वस्त छु कि हामीले पीएसजीलाई निराश बनाउन सक्छौं, यदि हामीले धेरैभन्दा धेरै अवसरहरू सिर्जना गर्न सक्यौं भने,’ उनले थपे ।

Loading...