कुशे औंशी र तीजले कोरोना संक्रमण बढाउन सक्छ

विराटनगर, १ भदौ । कोरोना संक्रमण तीब्र गतिमा फैलिरहेको बेलामा नजिकिँदै आएको तीज र कुशे औंशीले संक्रमण बढाउन सक्ने जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डे बताउँछन् ।

डा. पाण्डेले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत तीजमा जम्मा हुने, नाचगान गर्ने, दर खाने, बजारको सामान किनेर बुबाको मुख हेर्ने, घरमा पाहुना बोलाउने जस्ता गतिविधि नगर्न पनि आग्रह गरेका हुन् ।

कुशे औंशीमा बजारमा पाइने खानेकुरा तथा उपहार बोकेर बुवालाई भेट्न जाँदा जोखिम हुनसक्छ । हामीमध्ये जो पनि संक्रमित हुनसक्छौं ।

केही रोग नभएकाहरूलाई संक्रमणले असर नगरेपनि जेष्ठ नागरिक, दीर्घरोगी र औषधि सेवन गरिरहेका बुबाआमालाई जोखिम हुनसक्छ ।

परीक्षण नगरी संक्रमित हो वा होइन भनेर थाहा नहुने हुँदा दर खान जाँदा, खान बोलाउँदा  तथा तीजमा दिदीबहिनी जम्मा हुने, नाचगान गर्ने जस्ता गतिविधिले संक्रमण बढाउन सक्ने उनले बताएका छन् ।

साथै, दर खाने नाममा अपच हुनेगरी सेवन गरेको भोजनले अम्लपित्त बढेर, झाडावान्ता भएर अस्पताल जानुपरेमा थप जोखिम बढ्न सक्ने उनको भनाइ छ ।

त्यसैले घरमै रेडियो, टिभीमा गीत सुनेर हल्का र सधैझैँ सामान्य खाना खान र यो पटक घरमा पाहुना नबोलाउन र पाहुना भएर नजानसमेत उनले आग्रह गरेका छन् ।

महामारीबाट मुक्ति मिलेपछि हरेक दिन चाडपर्व हुनेछन् । त्यसैले यसपटकको कुशे औंशी र तीजमा फोन वा भर्चुवल माध्यमद्वारा शुभकामना तथा आशिर्वाद आदानप्रदान गर्न उनले सल्लाह दिएका छन् ।

Loading...