विराटनगरमा कोरोना महामारी: मेयर भन्छन्, ‘लकडाउनले संक्रमण दर कम गर्‍यो’

gate

विराटनगर, १ भदौं । समुदायस्तरमा संक्रमण फैलिएको विराटनगरमा संक्रमणको दर बढ्दै गएको छ । सात साउनसम्म ३३ जना संक्रमित रहेको विराटनगरमा साउन अन्त्यसम्म ५३३ जना कोरोना संक्रमित थपिएका छन् । सोमबार २९ जना संक्रमित थपिएका छन् ।

समुदायस्तरमा संक्रमण पुगेका कारण संक्रमितको संख्या दैनिक बढ्दो छ । कोरोना संक्रमणको अवस्था अझै केही दिन बढ्ने विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्की बताउँछन् । ‘महामारी उच्च बिन्दुमा पुगेर बिस्तारै कम हुँदै जान्छ,’ उनी भन्छन्, ‘अहिले संक्रमण बढ्दो छ । संक्रमण दर ग्राफ घट्नका लागि समय लाग्छ ।’

महानगरमा १८ साउनयता दैनिक दोहोरो अंकमा संक्रमित थपिएका छन् । १९ साउदेखि ३२ साउनसम्मको अवधिमा ७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।

विराटनगर महानगरपालिकामा १८ साउनमा १२ जनामा संक्रमण देखिएको थियो । १९ गते २२ जना, २० गते १६ जना, २१ गते १२ जना, २२ गते २० जना, २३ र २४ गते ३३–३३ जना संक्रमित थपिएका थिए ।

साउन २५ गते २७ जना, २६ गते १० जना, २७ गते ४९ जना, २८ गते १३ जना, २९ गते ५९ जना, ३० गते २८ जना, ३१ गते ३८ जना र ३२ गते ८६ जनामा संक्रमण पुष्टि भएको थियो । १ भदौंमा २९ जनामा संक्रमण पुष्टि भएको छ ।

महानगरमा दैनिक पाँचसयको कोरोना जाँच गर्ने योजना बनाएको छ । तर पीसीआर मेसिनको क्षमता कम भएका कारण दैनिक सरदर दुई सयको पीसीआर जाँच हुँदै आएको मेयर भीम पराजुली बताउँछन् ।

महानगरले मेसिन खरिदको प्रक्रिया अघि बढाएको बताउँदै उनले मेसिन आएपछि कोरोना जाँच बढ्ने बताए । ‘कोशी अस्पतालसँगको साझेदारीमा मेसिन सञ्चालनको तयारी छ,’ उनले भने, ‘महानगर मेसिन खरिदको प्रक्रियामा छ ।’

लक्षणसहितका बिरामी बढे, १० दिनमा ६ जनाको मृत्यु

संघीय सरकारले चार महिना लामो लकडाउन साउन ७ गते अन्त्य ग¥यो । सरकारले लकडाउन अन्त्य गरेकै दिनदेखि विराटनगरमा संक्रमणको ग्राफ बढ्दै गएको हो । ११ साउनमा समुदायमा पुगेको निष्कर्ष निकालेको विराटनगर महानगरपालिकाले १६ साउनबाट लकडाउन आह्वान गरेको छ । लकडाउनले संक्रमण दर रोक्न ठूलो मद्दत गरेको मेयर भीम पराजुली बताउँछन् ।

विराटनगरमा कोरोना संक्रमणबाट १९ साउनमा पहिलो मृत्यु भएको थियो । विराटनगर–५ का ७७ वर्षीय वृद्धको मृत्युपछि कोरोना पोजेटिभ देखिएको थियो । दुई दिनपछि विराटनगर–९ का ४५ वर्षीय पुरुषको पनि मृत्युपछि रिपोर्ट पोजेटिभ आयो ।

२३ साउनमा विराटनगर–९ कै ४५ वर्षीय पुरुषको मृत्यु भयो । २४ साउनमा विराटनगर–१० का रमेश अग्रवालको मृत्यु भयो । उनको रिपोर्ट कोशी अस्पतालमा पोजेटिभ थियो । दोस्रो पटक गर्दा प्रदेश जनस्वास्थ्य प्रयोगशालामा नेगेटिभ आएको थियो ।

२८ साउनमा विराटनगर–३ का ५८ वर्षीय पुरुषको मृत्यु भएको थियो । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उनको अक्सिजन अभावमा मृत्यु भएको हो ।

२९ साउनमा विराटनगर–१५ का ३० वर्षीय युवकको मृत्यु भएको थियो । उनको पहिलो रिपोर्ट नेगेटिभ र दोस्रो रिपोर्ट पोजेटिभ आएको थियो । ३२ साउनमा विराटनगर तीनपैनी चोककी ५० वर्षीय महिलाको मृत्यु भएको हो ।

विराटनगरभित्र पछिल्लो समय भेटिएका संक्रमितमध्ये आधाभन्दा बढी लक्षणसहितका हुन् । जनस्वास्थ्य प्रमुख रमेश कार्कीका अनुसार आधाभन्दा बढी बिरामी लक्षणसहितका छन् । तर आइसोलेसन नहुँदा लक्षण भएका संक्रमितको उपचार पाउनै गाह्रो छ ।

लकडाउनले सम्भावित दुर्घटना टर्‍यो

विराटनगर महानगरपालिका मेयर भीम पराजुली लकडाउन गरेका कारण विराटनगरमा संक्रमणलाई तीव्र फैलावट नियन्त्रण गर्न सकिएको बताउँछन् । महानगरपालिकाले ११ साउनमा नै लकडाउन गर्ने तयारी गरेको थियो । तर संघ र प्रदेश सरकार नमानेपछि तत्काल लकडाउन भएन । १६ साउनमा लकडाउन गरेका कारण सम्भावित जोखिमलाई केही हदसम्म नियन्त्रणमा लिइएको उनले बताए । ‘लकडाउन नगरेको भए स्थिति भयावह हुने थियो,’ उनले भने, ‘संक्रमण फैलन नदिन लकडाउन प्रभावकारी बन्यो ।’

‘प्रदेश सरकार पनि तत्काल लकडाउन नगरौं भन्ने पक्षमा थियो । तर विराटनगरको अवस्था विश्लेषण गरेर मैले जोडवल गरिरहेँ,’ उनले भने, ‘सामाजिक विकास मन्त्री जीवन घिमिरेसँगको नेतृत्वमा छलफल गरी १६ साउनबाट लकडाउन गर्ने निर्णय ग¥यांै ।’

लकडाउन थिएन भने विराटनगरको अवस्था भयावह हुने उनको विश्लेषण छ । ‘लकडाउन गरेर भयावह अवस्थाको केही हदसम्म अन्त्य गरेका छौं,’ उनले भने, ‘तर अब संक्रमितको व्यवस्थापनमा समस्या छ । अस्पतालमा भेन्टिलेटर छैन । घरमै संक्रमितको मृत्यु हुन थालिसक्यो ।’ संघीय र प्रदेश सरकारले तत्काल उपचारको व्यवस्था मिलाउनुपर्ने उनले बताए ।

Loading...