मानवीय गतिबिधिका कारण दुर्लभ घडियाल गोही मर्ने क्रममा वृद्धि

विराटनगर, १ भदौ । मानवीय गतिबिधिका कारण प्रत्येक वर्ष गोही मर्ने क्रम वृद्धि हुँदै गएको छ ।

नेपालको नारायणी र राप्तीलगायतका नदीहरूमा मानवीय गतिबिधि बढ्दै गएपछि अति संकटको सूचीमा रहेका दुर्लभ घडियाल गोही मर्ने क्रम बढ्दै गएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।

वन राष्ट्रिय निकुञ्जका सहायक वार्डेन तथा गोही विज्ञ वेदप्रसाद खड्काले निकुञ्जले गोहीको संरक्षणको प्रयास गर्दागर्दै पनि आर्थिक वर्ष ७६÷७७ मा १२ वटा र अघिल्लो वर्ष ९ वटा गोही मरेको बताएका छन् ।

नदीमा माछा मार्नेलगायत गतिबिधि बढ्दै गएको कारण नै घडियाल गोही मरिरहेको उनले बताएका छन् । माछा मार्दा माछासँगै गोही पनि जालमा पर्ने हुँदा जाल छुटाउन गोहीलाई हिर्काएर मार्ने गरिएको उनको भनाइ छ । गोही विज्ञ खड्काका अनुसार गत आर्थिक वर्षमा मारिएका अधिकांश गोहीको टाउकोमा चोट लागेको पाइएको छ ।

माछा मार्नेको कारणबाट मात्र नभएर नदी तटीय क्षेत्रमा रहेका उद्योगबाट निस्कने प्रदूषण र बढ्दो शहरीकरणका कारण नदी प्रदूषण बढ्दा पनि गोही संकटमा परिरहेका छन् । नेपाल र भारतमा मात्र पाइने दुर्लभ घडियाल गोही नेपालमा हाल तीन सयको हाराहारीमा मात्र छन् ।

Loading...