मन्त्रिपरिषद् पुनर्गठनको तयारी छैन : नेकपा प्रवक्ता श्रेष्ठ

काठमाडौं, १ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवक्ता नारायणकाजी श्रेष्ठले तत्काल मन्त्रिपरिषद् पुनर्गठनको तयारी नरहेको बताएका छन् ।

नेकपा सचिवालय बैठकपछि सोमबार संवाददाताहरूसँग कुरा गर्दै प्रवक्ता श्रेष्ठले तत्काल मन्त्रिपरिषद् पुनर्गठनको सम्भावना रहेको बताए ।

बैठकमा मुख्यमन्त्री र मन्त्रिपरिषद् पुनर्गठनबारे कुनै छलफल नभएको दाबी गर्दै उनले भने, ‘अहिले मन्त्रिपरिषद् पुनर्गठनबारे अध्यक्षबीच र सचिवालयमा छलफल भएको छैन । हाम्रो पार्टी अहिलेको संकटको निकास र महाधिवेशनका लागि केन्द्रित छ ।’

वालुवाटारमा बसेको सचिवालय बैठकले केही दिनअघि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले बनाएको कार्यदललाई अनुमोदन गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

कार्यदलको प्रतिवेदन दुई अध्यक्षले ग्रहण गर्ने र स्थायी कमिटीमा प्रस्तुत हुने उनको भनाइ छ । अध्यक्षद्वय ओली र दाहालले पार्टीमा देखिएको विवाद समाधानका लागि बिहीबार महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल बनाएका थिए ।

कार्यदलमा भीम रावल, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा र पम्फा भुसाल सदस्य छन् ।

Loading...