आज थप तीन जनाको कोरोनाबाट ज्यान गयो

विराटनगर, १ भदौ । नेपालमा पछिल्लो २४ घण्टायता थप तीन जनाले कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट ज्यान गुमाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबारको ब्रिफिङका क्रममा थप तीन जनाको कोरोनाबाट ज्यान गएको पुष्टि गरेको हो ।

मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले राैतहटका ३२ वर्षीय एक जना पुरुष, मोरङका ६० वर्षीय एक जना पुरुष र काठमाडाैंकी ५८ वर्षीया एक महिलाको ज्यान गएको जानकारी दिए ।

यससँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेहरूको संख्या १०७ पुगेको छ ।

मृत्यु हुनेमा ८३ पुरुष र २१ महिला रहेका छन् ।

यसैगरी संक्रमण पुष्टि हुनेको संख्या २७ हजार नाघेको छ । सोमबार ४०८ पुरुष र १७६ महिला गरी थप ५८१ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २७ हजार २४१ पुगेको छ । कुल संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या ९ हजार ६३९ रहेको छ ।

यता, नेपालमा कोरोनामुक्त हुनेको संख्या १७ हजार ४९५ पुगेको छ । कुल संक्रमितमध्ये ६४.२ प्रतिशतले कोरोना जितेका हुन् । पछिल्लो २४ घण्टामा थप १६० जना कोरोनालाई जितेर घर फर्किएका छन् ।

Loading...