धनुषामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या नौ पुग्यो

जनकपुरधाम, १ भदौ । धनुषामा कोरोना संक्रमणका कारणले मृत्यु हुनेको संख्या ९ पुगेको छ । प्रदेश नंं २ का सामाजिक विकास मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजयकुमार झाका अनुसार सोमबार थप एक जनाले ज्यान गुमाएसँगै कोरोनाका कारण धनुषामा मृत्यु हुनेको संख्या ९ पुगेको हो ।

आज कोरोना संक्रमणबाट धनुषामा थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको धनौजी गाउँपालिका–३ का ६५ वर्षीय पुरुष रहेको प्रादेशिक अस्पतालले जनाएको छ ।

प्रादेशिक अस्पताल जनकपुरधामको कोरोना विषेश अस्पतालको आइसोलेशनमा उपचार गराइरहेका सो व्यक्तिमा श्वासप्रश्वास, रुघाखोकी जस्ता समस्या रहेकोमा उपचारका क्रममा मृत्यु भएको कोरोना विषेश अस्पतालका संयोजक डा. जामुनप्रसाद सिंहले जानकारी दिए ।

मृतक ३१ साउनमा अस्पतालको आइसोलेशनमा भर्ना भएका थिए । दम रोगका बिरामी रहेका उनलाई श्वासप्रश्वासमा समस्याका साथै रुघाखोकी लागेपछि २६ साउनमा पीसीआर चेक गर्दा मृतक पुरुषमा कोरोनाको पुष्टि भएको थियो ।

सुरुमा आइसोलेशनमा भर्ना भएकोमा स्वास्थ्य अवस्था बिग्रेपछि आईसियुमा राखेर उपचार भइरहेकोमा आज उनको मृत्यु भएको हो

योसँगै प्रदेश नंं २ मा मात्र कोरोनाका कारणले हालसम्म ४६ जनाको मृत्यु भइसकेको छ ।

Loading...