Rumpum

Rumpum Advertisement

मरेको चित्तलसहित दुईजना पक्राउ

मरेको चित्तलसहित दुईजना पक्राउ

विराटनगर, १ भदौ । मोरङको पथरीशनिश्चरेबाट मरेको चित्तलसहित प्रहरीले दुई जनालाई सोमबार बिहान पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पथरीशनिश्चरे नगरपालिका–१ का २६ वर्षीय चित्रकुमार श्रेष्ठ र भोजपुर दरगाउँ घर भई पथरीशनिश्चरे–१ मा बस्दै आएका २१ वर्षीय विश्वबन्धु भनिने विकाश राई रहेका छन् । पथरीशनिश्चरे–२ मा रहेको हरियाली सामुदायिक वनबाट चित्तल मारेर ल्याउँदै गर्दा प्रहरी र सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीको संयुक्त टोलले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दीलिप गिरीले वनमा पासो थापेर जंगली जनावर चित्तल मारेको पत्ता लागेको बताए । उनका अनुसार अन्दाजी तीन वर्षजतिको पोथी चित्तल लगभग ३५ किलोग्राम तौलको थियो ।

पक्राउ परेकाहरुको साथबाट धारिलो हतियार दाउ, कर्द र चित्तललाई पासो थाप्न प्रयोग गरिएको स्टिलको १० मिटर तार प्रहरीले बरामद गरेको छ । पक्राउ परेकाहरुले यसअघि पनि वन क्षेत्रमा अनाधिकृतरुपमा प्रवेश गरेर वन्यजन्तुको चोरीसिकारी गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुलाई प्रहरीले बुझाएपछि सव डिभिजन वन कार्यालयले आवश्यक कारबाही अघि बढाउन अनुसन्धान सुरु गरिएको जनाएको छ ।