एम्बाप्पे लेइपजिगविरुद्ध खेल्न तयार

एजेन्सी, १ भदौ । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का युवा स्टार किलियन एम्बाप्पे च्याम्पियन्स लिगको सेमिफाइनल खेल खेल्न तयार देखिएका छन् ।

क्वार्टरफाइनल खेलअन्तर्गत अटलान्टासँगको खेल सकिन ३० मिनेट बाँकी छँदा मैदान प्रवेश गरेका एम्बाप्पे सेमिफाइनल खेलमा भने सुरुआतबाटै खेल्ने सम्भावना छ । अब, फ्रेन्च स्टार एम्बाप्पे पूर्ण रूपमा फिट भएको पीएसजीले जनाएको छ ।

विश्वकप विजेता एम्बाप्पे अटलान्टासँगको खेलको ६०औंं मिनेटमा मैदान प्रवेश गरेका थिए ।

फ्रेन्च कपको फाइनल खेलमा घाइते भएका उनले अटलान्टाविरुद्ध एक असिस्ट गरेका थिए ।

गत बुधबार राति पीएसजीले अटालान्टाविरुद्ध २–१ गोलको जित निकाल्दै सेमिफाइनलमा स्थान पक्का गरेको थियो ।

एम्बाप्पे सेमिफाइनल खेलका पूर्ण रूपमा फिट भइ प्रशिक्षणमा फर्किएका छन् ।

पीएसजीले र जर्मन क्लब आरबी लेइपजिग फाइनलका लागि मंगलबार खेल्दैछन् । लेइपजिगले बिहीबार राति एथ्लेटिको मड्रिडलाई २–१ गोलले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो ।

यस खेलमा पीएसजीलाई समस्या आइपरेको छ । आफ्नो पहिलो रोजाइका गोलरक्षक केयलर नाभासले लेइपजिगविरुद्धको खेल गुमाउने भएपछि पीएसजीलाई समस्या परेको हो ।

ह्याम्स्ट्रिङका कारण उनले लेइपजिगसँगको सेमिफाइनल खेल गुमाउने क्लबले जनाएको छ । यसै सिजन रियल मड्रिडबाट पीएसजी आएका नाभास इटालियन क्लब अटलान्टासँगको क्वार्टरफाइनल खेलका क्रममा घाइते भएका थिए ।

खेलको ७९औं मिनेटमा कोस्टा रिकाका गोलरक्षक नाभासले मैदान छोडेका थिए भने उनको स्थानमा सर्जियो रिको मैदान प्रवेश गरेका थिए ।

त्यसबाहेक पीएसजीमा नाभासबाहेक कप्तान थियागो सिल्भा, मार्को भेराट्टी, लेभिन कुर्जवा र इद्रिसा गुइए पनि घाइते छन् ।

कप्तान सिल्भा सोमबारबाट प्रशिक्षणमा फर्किएका छन् भने कर्जुवाले शनिबारबाटै प्रशिक्षण थालेका छन् ।

यसैगरी भेराट्टी चोटमुक्त हुन प्रयासरत छन् । उनले सोमबारकाे अभ्यास सत्रमा भाग लिएको क्लबले जनाएकाे छ ।

गुइएले भने सेमिफाइनल खेल खेल्नेमा शंका उत्पन्न भएकाे छ । उनी टोलीकाे प्रशिक्षणमा सहभागी छैनन् ।

Loading...