Rumpum

Rumpum Advertisement

निषेधाज्ञामा सक्रियता बढाउँदै चितवन प्रहरी

निषेधाज्ञामा सक्रियता बढाउँदै चितवन प्रहरी

चितवन, १ भदौ । कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढेपछि चितवनको माडी नगरपालिकाबाहेक सबै स्थानीय तहमा निषेधाज्ञा घोषणसगैँ चितवन प्रहरीले सक्रियता तीव्र पारेको छ ।

कोरोना भाइरसको जोखिमलाई न्यूनिकरण गर्न चितवन प्रहरीले सीमा चेकचाँजलाई तीव्र पारेको हो । जिल्लाको मतहतका सबै युनिटमा गरेर झण्डै छ सयभन्दा बढी प्रहरी परिचालन गरेको चितवनका प्रहरी प्रमुख एसपी नान्तीराज गुरुङले जानकारी दिए ।

शुक्रबारबाट भरतपुर महानगरले निषेधाज्ञा सुरु गरे पनि इच्छाकामना गाँउपालिकासहित रत्ननगर, कालिका, खैरहनी र राप्ती नगरपालिकाले भने शनिबार रातिदेखि लागू हुने गरी निषेधाज्ञा घोषण गरेका थिए ।

स्मार्ट निषेधाज्ञा भएको बताउँदै एसपी गुरुङले कोरोना महामारीविरुद्धको लडाइँको अग्रमोर्चामा नेपाल प्रहरी खटिएको भन्दै चितवनमा जोखिम कम गर्न चौबीसघण्टे ‘ड्युटी र अन द स्पट कारवाहीसमेत लागू गरेको बताए ।

यस्तै सुरक्षालाई थप मजबुत बनाउन तीनै तहका नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी समन्वय गर्दै चोक सडकमा उतारिएको गुरुङले बताए ।

१४ लाख बढी राजश्व संकलन

यसैबीच मास्कको प्रयोग नगरी हिँड्ने १२ सयजना बढीलाई नियन्त्रणमा लिई छाडिएको छ । लकडाउनको समयमा मात्रै ११ लाख ८० हजार रुपैयाँ र निषेधाज्ञा लागू गरेपछि तीन लाख रुपैयाँ बढी राजश्वसमेत संकनल भएको एसपी गुरुङले बताए ।

प्रहरीले निषेधाज्ञाको सामाजिक दुरी कायम नगरेको भन्दै जरिवाना ५०० र माक्स प्रयोग नगर्नेलाई अन द स्पट एक सय रुपैयाँ जरिवाना गराउँदै आएको छ ।

२५ सय सवारीसाधन फिर्ता

यस्तै चितवन हुँदै अन्य जिल्ला तथा राजधानी प्रवेश गर्न खोज्ने सवारीसाधनलाई प्रवेशविन्दुबाटै फर्काइएको छ । विनाअनुमति चितवनमा प्रवेश गर्न खोज्ने २५ सय सवारीसाधनलाई प्रवेश नाकाबाटै फिर्ता पठाइएको चितवन प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाका अनुसार निषेधाज्ञाकै क्रममा पुल्चोक नाकाबाट मात्रै साइकल, मोटरसाइकल, सानो र ठूलो सवारी गरी १५ सय सवारीसाधन र लोथर नाकाबाट एक हजार सवारीसाधन फिर्ता पठाइएको बताए ।

यस्तै चितवनमा नेपाली सेनाको कालीबहादुर गणका झण्डै एक सय ५० जना बढी सेना र सशस्त्र प्रहरीको गढीमाई बाहिनीअन्तर्गत चितवनमा सशस्त्र प्रहरी वलका दुई सयजना परिचालन भएको चितवन प्रहरीले जनाएको छ ।