रातो मच्छिन्द्रनाथमा पूजाआजा गर्नेको भीड

फायल फोटो

काठमाडौ, १ भदौ । कोरोना संक्रमणको जोखिमका कारण ‘वर्षा र सहकाल’का देवता रातो मच्छिन्द्रनाथको रथाजात्रा हुन नसकेपछि स्थानीयहरु रथारोहण गराइएको ठाउँमै पुगेर पूजाआजा गरेका छन् ।

साउन १० गते नागपञ्चमीका दिन दिउँसो सवा १२ बजेको शुभसाइतमा मच्छिन्द्रनाथलाई रथमा विराजमान गराइएको थियो । रथमा विराजमान गराएको चार दिनपछि रथजात्रा गर्नुपर्ने भए पनि कोरोना संक्रमणको जोखिमका कारण रथजात्रा रोकिएको थियो । काठमाडौं उपत्यकाको सबैभन्दा लामो रथजात्राका रुपमा रहेको मच्छिन्द्रनाथको रथारोहण वैशाख शुक्ल प्रतिपदाका दिन गरिने प्रचलन रहेको छ । तर यस वर्ष कोभिड–१९ का कारण ढिला गरी राथारोहण गराइए पनि रथजात्रा निकाल्न सकिएको छैन ।

लिच्छवीकालदेखि निरन्तर चल्दै आएको जात्रामा रथारोहणको अन्तिम साइत नागपञ्चमीको दिन परेको थियो । सोही दिन नै मच्छिन्द्रनाथलाई रथमा विराजमान गराइएको थियो । तर पनि रथजात्रा निकाल्न नसकिएपछि स्थानीयहरु पुल्चोकस्थित रथारोहण गराइएको ठाउँमै पुगेर दैनिक पूजाआजा गर्दै आएका छन् । यसरी पूजाआजा गर्न जाने भक्तालुहरु बढ्दै गएपछि हिजोआज भिडभाड देखिएको छ ।

कोभिड १९ संक्रमणको जोखिमलाई ध्यान दिएर २० जनाभन्दा बढीलाई सहभागी हुन नदिई रथजात्रा गराउने भनिएको थियो । तर मानिसहरुको उल्लेख्य सहभागिता हुने सम्भावना भएपछि रथजात्रा रोकिएको थियो ।

Loading...