Rumpum

Rumpum Advertisement

बजार चिनाउने चन्द्रमान : आधा जीवन मूर्तिकलामा

बजार चिनाउने चन्द्रमान : आधा जीवन मूर्तिकलामा

सविन घिमिरे

विराटनगर, १ भदौ । पर्यटकीय क्षेत्र वसन्तपुर पुगेपछि जो–कोहीको नजर बसपार्कमा रहेको लालीगुराँसको प्रतिमामा ठोकिन्छ । प्रतिमाले बजारलाई चिनाएको छ । वसन्तपुर पुग्ने पर्यटक लालीगुराँसको प्रतिमालाई पृष्ठभूमि बनाएर सेल्फी नलिई फर्कने कमै हुन्छन् ।

तेह्रथुमको लालीगुराँस नगरपालिमा पर्ने वसन्तपुर बजारमा रहेको प्रतिमा विश्वको सबैभन्दा धेरै प्रजातिको लालीगुरास पाइने स्थानको चिनारी बनेको छ ।

वसन्तपुरका युवालगायतका स्थानीय वासिन्दाले २०६९ सालमा देउसी खेलेको रकमले गुराँसको प्रतिमा बनाउने काम सुरु गरेका हुन् । नौ लाख ३३ हजार पाँच रुपैयाँ लागतमा गुराँसको प्रतिमा चन्द्रमान लिङ्खाले निर्माण गरेका हुन् । उनले विभिन्न ठाउँमा बनाएका प्रतिमाको चर्चा सामाजिक सञ्जालमार्फत् विश्वभरि हुने गर्छ ।

संखुवासभाको धर्मदेवी नगरपालिका–४, माम्लिङका ५४ वर्षीय चन्द्रमान मूर्तिकार हुन् । २५ वर्षयता उनी देशका विभिन्न स्थानमा पुगेर मूर्ति र प्रतिमा बनाइरहेका छन् । उनले बनाएका प्रतिमाको चर्चा देशविदेशमा हुन्छ । प्रतिमा पर्यटक आर्कषणको केन्द्र बनेका छन् । तर समजालाई सुन्दर कला देखाइरहेका उनको दैनिकी भने अभावसँग पौठेजोरी खेल्दै बित्छ ।

मूर्तिकार चन्द्रमान लिंखाले संखुवासभाको मुढेशनिश्चरे बजारमा यलम्बरको पूर्णकदको मूर्ति, मुडेशनिश्चरे बजारमै फुलिरहेको चाँपको रूख, तीनजुरेको आरआर गार्डेनमा रहेको ढुंगालाई कुँदेर विभिन्न जनावरको आकृति, तेह्रथुमको लसुने बजारमा लसुन स्तम्भ, तेह्रथुमकै फाक्चामारामा फाल्गुनान्दको सालिक, तेह्रथुम सदरमुकाम म्याङलुङमा बिरालोको स्तम्भ, धनकुटाको जितपुरमा झाँक्री बनाएका छन् ।

मोरङको पथरीमा सिरिजंगा, मकवानपुरको हेटौंडामा विश्वेश्वरप्रसाद कोइराला र पुष्पलाल श्रेष्ठको प्रतिमा पनि बनाएका छन् । उनले बनाएका सयौं प्रतिमा सार्वजनिक स्थानहरुमा राखिएको छ ।

धर्मदेवी नगरपालिकाको याख्खा चोकमा याख्खा जातिको संस्कारमा आधारित डोकेनी स्तम्भ निर्माणको काम लगभग सकेका छन् ।

धनकुटाको सिधुवामा रहेको फूलकोबीको स्तम्भ डिजाइन उनकै हो । तर अमेरिका जानुपर्ने भएको कारण त्यो पूरा गर्न सकेनन् । त्यहाँ फाइबरको कोबीको स्तम्भ निर्माण गरिएको छ ।

आधा जीवन मूर्तिकलामै व्यतित गरिसकेका लिङ्खाले ३०० भन्दा बढी साना तथा ठूला मूर्ति तथा स्तम्भ निर्माण गरिसकेको छन् । यो अभियान जारी छ ।

सानै उमेरदेखि मूर्ति बनाउने लिङ्खाले व्यावसायिकरुपमा मूर्ति निर्माण सुरु गरेको २०५० सालदेखि हो । उनले बनाएका पहिलो मूर्ति संखुवासभा माम्लिङको तीनवटा टाउको भएको देवीको मूर्ति हो ।

‘काम छोडौं भन्छु तर आत्माले मान्दैन’

चन्द्रमान लिङ्खाले बनाएका स्तम्भले धेरै स्थानलाई चिनाएको छ । तर उनलाई चिन्ने मान्छे कमै छन् । समाजमा उनको प्रतिभा परिचित छ ।

अझ निर्माणको क्रममा उनले भोगेका पीडा दुःखदायी छन् । धेरैजसो ठाउँको स्तम्भ तथा मूर्ति निर्माणको क्रममा घाटा भोगेको उनी सुनाउँछन् । उनी आफूले गरेका धेरै काममा आर्थिक नोक्सानी भोगेको गुनासो गर्छन् ।

लिङ्खाले प्रदेश १ को संखुवासभा, तेह्रथुम, धनकुटालगायत जिल्लामा प्रतिभा बनाउन धेरै समय बिताएका छन् ।

भौगोलिक कठिनाइको कारण काम गर्दा आफूले इस्टिमेट गरेकोभन्दा धेरै खर्च लागेको उनी बताउँछन् । पहाडी क्षेत्रमा काम गर्दा सानो सामान खरिद गर्न तराई नै झर्नुपर्ने बाध्यता रहेको उनको गुनासो छ । मौसम प्रतिकुल भइदिँदा निर्माणको समय लम्बिने गर्छ ।

स्तम्भ तथा मूर्ति निर्माण गरेर उनले सम्पति आर्जन गरेका छैनन् । केही स्थानमा उनले काम गरेको पैसा पनि पाएका छैनन् । ‘एकाउन्टमा शून्य ब्यालेन्स होला,’ उनी भन्छन्, ‘काम गर्दा घाटा लागे पनि आफूले गरेको कामले सन्तुष्टि दिन्छ ।’

आफूले निर्माण गरेका स्तम्भ तथा मूर्तिमा पर्यटक रमाएको देख्दा सबै पीडा भुल्ने गरेको उनले बताए । ‘आफ्नो कामबाट आम्दानी नहुँदा पेसा परिवर्तन गरौंजस्तो लाग्छ,’ उनी भन्छन्, ‘तर आत्माले मान्दैन, स्वस्थ रहुन्जेल र हैसियतले भ्याउन्जेल यसैलाई निरन्तरता दिन्छु ।’ उनको मूर्तिकलाको कदर गर्दै प्रदेश १ सामाजिक विकास मन्त्रालयले ‘प्रदेश साहित्य कला सम्मान पुरस्कार २०७६’ बाट सम्मानित गरेको थियो ।

मूर्तिकारको अवस्था सुध्रिएन तर ठाउँ सिगारिएको छ

धेरै स्थानको पहिचान झल्काउने स्तम्भ निर्माण गरेका उनी आफ्नो कामबाट सन्तुष्ट छन् । तर भविष्य सम्झिएर झस्कन्छन् । ‘मलाई केही साह्रोगाह्रो बिराम परिहाले त्यसलाई पार गर्न सक्छु कि सक्दिनँ, थाहा छैन,’ उनले भने, ‘समाजलाई मैले सकेजति योगदान गरेको छु, भोलि साह्रगाह्रो भए राज्यले हेर्छ होला ।’

उनले बनाएका स्तम्भ तथा मूर्तिले धेरै ठाउँलाई पर्यटक क्षेत्रको रुपमा विकास गरेसँगै पर्यटकको आगमनसमेत बढेको छ । चन्द्रमानले आफू जस्तो अवस्थामा भए पनि आफूले गरेको कार्यबाट कुनै ठाउँको महत्व बढ्दा आफूलाई खुसी लागेको बताउँछन् ।

कमजोर आर्थिक अवस्थासँग पौंठेजोरी खेल्दै अढाई दशक मूर्तिकला क्षेत्रमा बिताएका लिङ्खा राज्यले सहयोग गरे आफूजस्ता मूर्तिकार पेशाबाट पलायन हुनुपर्ने अवस्था नआउने बताउँछन् ।