भारतको आधा जनसंख्यामा संक्रमण फैलिन सक्ने

विराटनगर, १ भदौ । भारतको आधा जनसंख्यामा कोरोना भाइरसको संक्रमण हुन सक्ने बताइएको छ ।

बीबीसीमा उल्लेख गरिएअनुसार भारतका वरिष्ठ इपिडेमियोलोजिस्ट डा. जयप्रकाश मुलियिलले भारतको आधा जनसंख्यामा कोरोना भाइरसको संक्रमण पुग्न सक्ने चेतावनी दिएका हुन् । मुलियिलले ग्रामीण क्षेत्रमा बस्ने दीर्घरोगी भारतीयमा संक्रमण फैलिए उनीहरूको उपचार गर्न कठिन हुने बताएका छन् ।

गाउँमा पूर्वाधार नभएकाले दीर्घरोगीलाई ज्वरो आएमा परिवारका सदस्यले तत्कालै अस्पताल लैजाने गर्दैनन् जसकारण धेरै घरका बुढापाकाहरूले ज्यान गुमाउने छन् । भारतमा कोरोना भाइरसको संक्रमण शहरबाट धेरै गाउँमा फैलिन सक्ने भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरिरहेका छन् ।

भारतमा अहिले पनि झन्डै ६० करोड मानिसहरू गाउँमा बस्छन् र धेरैजसो मानिसहरू परीक्षण र उपचारबिना कोरोना भाइरसको शिकार बन्ने डर बढिरहेको छ । राष्ट्रिय परिवार स्वास्थ्य सर्वेक्षणको तथ्यांकअनुसार देशको ग्रामीण जनसंख्याको २५ प्रतिशतले मात्र सार्वजनिक स्वास्थ्य सेवामा पहुँच पाएको छ ।

स्वास्थ्य पूर्वाधारको अभावका कारण अन्य रोग लागे उपचार नपाइने गाउँमा कोरोनाको संक्रमण बढे स्थिति भयावह हुने देखिन्छ । हालसम्म भारतमा कोरोना भाइरसका कारणबाट ज्यान गुमाउनेको संख्या ५१ हजार नाघेको छ भने २६ लाखभन्दा धेरैमा कोरोनाको संक्रमण पुष्टि भएको छ ।

Loading...