विराटनगर भन्सार कार्यालयका चार कर्मचारीलाई कोराना

विराटनगर, १ भदौं । विराटनगर भन्सार कार्यालयमा कार्यरत चारजना कर्मचारीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

ज्वरो आउने र रुघा लाग्नेलगायत समस्या देखिएपछि परीक्षण गराउँदा चारजनाको रिपोर्ट पोजेटिभ आएको कार्यालयकी प्रवक्ता सुनिता पौडेलले बताइन् ।

२० जना कर्मचारीको स्वाब संकलन गरेर पीसीआर परीक्षण गराइएकोमा चारजनामा कोरोना पुष्टि भएको उनले बताइन् । संक्रमित कर्मचारी तथ्यांक शाखामा कार्यरत रहेको बताइएको छ ।

उनीहरु भन्सार कार्यालयकै क्वाटरमा बस्दै आएका थिए । बाहिर अरुको सम्पर्कमा नगएका उनीहरुमा कहाँबाट संक्रमण स्रोत खुल्न सकेको छैन् । संक्रमित चारैजना कर्मचारी अहिले ‘होम आइसोलेसन’मा बसिरहेका छन् ।

कार्यालयमा कार्यरत अरु ११ जना कर्मचारीको पनि पीसीआर परीक्षणको तयार भइरहेको भन्सार कार्यालयले जनाएको छ ।

कर्मचारीमा कोरोना पुष्टि भए पनि कार्यालयको काम भने सुचारु छ । आवश्यक सुरक्षा सवाधानी अपनाएर काम कारबाही सञ्चालन भइरहेको प्रवक्ता पौडेलले बताइन् ।

Loading...