Rumpum Advertisement

यस्ता छन् चिसो पानीको सेवनले शरीरमा पर्ने प्रभावहरू

यस्ता छन् चिसो पानीको सेवनले शरीरमा पर्ने प्रभावहरू

विराटनगर, १ भदौ । स्वस्थ र हाइड्रेटेड रहनको लागि कम्तिमा दिनको ८ गिलास पानी पिउन अत्यन्त महत्वपूर्ण हुन्छ ।

दूषित पानीका कारण हुन सक्ने विभिन्न रोगबाट बच्नका लागि पानी शुद्धिकरण गरेर पानी पिउन पनि विशेष ध्यान दिन्छौं । तर, पिउने पानीको तापक्रमले स्वास्थ्यलाई पनि असर गर्न सक्छ भन्ने कुरा धेरै कम मानिसहरूलाई मात्र थाहा हुन्छ । विशेषगरी गर्मीमा तिर्खा मेट्न र थकान हटाउन धेरैजसो मानिसहरू बाहिरबाट आएर, कामबाट फर्किएपछि चिसो पानी पिउन रुचाउँछन् ।

तर, चिसो पानी पिउँदा शरीरमा राम्रो हुनुभन्दा बढी हानी पुग्न सक्छ । चिसो पानीले पाचनमा गम्भीर प्रभाव पार्छ । चिसो पानीका साथै केही चिसो पेय पदार्थहरूले रक्त नलीहरूलाई संकुचन गरी पाचनलाई प्रतिबन्ध गर्छ । चिसो पानीका करण पाचनको समयमा पोषक तत्वहरू अवशोषितको प्राकृतिक प्रक्रियामा बाधा पुग्ने हुन्छ ।

शरीरको ध्यान पाचनबाट हटेर शरीरको तापक्रम मिलाउनमा केन्द्रित हुने र तापक्रम नियन्त्रण गर्न अतिरिक्त उर्जा खर्च हुने हुँदा पाचन प्रक्रियामा गम्भीर प्रभाव पर्न जान्छ । खाना खाएपछि चिसो पानी पिउँदा शरीरले फ्याट घटाउने क्षमतामा पनि हस्तक्षेप गर्छ । पानीको चिसो तापक्रमले खाद्य पदार्थहरूबाट फ्याटलाई ठोस बनाउँछ र फलस्वरूप शरीरबाट अनावश्यक बोसो पग्लन गाह्रो हुन्छ, जसकारण तौल बढ्न सक्छ ।

चिसो पानीका कारण खाना कडा हुने र आन्द्रा संकुचन हुने हुँदा चिसो पानीको सेवन कब्जियतको मुख्य कारण हुन सक्छ । चिसो पानीको सेवनले मुटुको दरलाई पनि कम गर्छ । धेरै मानिसहरूले कडा परिश्रम वा व्यायाम गरेपछि चिसो पानी पिउने गल्ती गर्छन् । जिम विज्ञहरूका अनुसार व्यायाम गरेपछि हल्का तातो पानी पिउन सल्लाह दिन्छन् ।

केही काम गर्दा शरीरले धेरै गर्मी उत्पन्न गर्छ, जसकारण शरीरलाई चिसो पानी अवशोषित गर्न गाह्रो हुन्छ र पाचनमा समस्या निम्तिन्छ । कडा परिश्रम भएको काम वा व्यायाम गरेपछि चिसो पानी पिउनाले पेट दुख्ने वा शरीरलाई शक लाग्ने हुन सक्छ । यी समस्याहरूबाट बच्नका लागि सामान्य कोठाको तापक्रम पानी पिउनु नै उपयुक्त हुन्छ । साथै, अधिकतम लाभ लिनका लागि खाना खानुभन्दा ३० मिनेटपछि पानी पिउने गर्नुपर्छ ।