Rumpum

Rumpum Advertisement

लापरबाहीपूर्ण स्थानान्तरणले फैलियो प्रहरीमा कोरोना

लापरबाहीपूर्ण स्थानान्तरणले फैलियो प्रहरीमा कोरोना

विराटनगर, १ भदौ । नेपाल प्रहरीको सशस्त्र प्रहरी गण रानी विराटनगरबाट खोटाङ सुरुवा गरेर पु¥याइएका ११ मध्ये छ जवानमा गत शनिबार कोरोना संक्रमण पुष्टि भयो ।

भोलिपल्ट आइतबार विराटनगरबाटै ओखलढुंगा पु¥याइएका एक जवानमा संक्रमण देखियो । उनीहरुलाई साउन २३ गते विराटनगरबाट गाडीमा राखेर लगिएको थियो । प्रहरीमा संक्रमण देखिएका यी दुई घटना लापरबाहीपूर्ण स्थानान्तरणका उदाहरण मात्रै हुन् । अरु जिल्लामा पनि विराटनगर लगायत अन्यत्रबाट पठाइएका प्रहरीमा कोरोना देखिन थालेको छ । विराटनगरमा रहेको प्रदेश १ प्रहरी कार्यालय र गण सबैभन्दा बढी संक्रमण भेटिएका कार्यालयभित्र पर्छन् ।

हालसम्म गणमा कार्यरत सात जनामा कोरोना पुष्टि भइसकेको छ । प्रदेशमा संक्रमित प्रहरी ३८ पुगिसकेका छन् । तर यी कार्यालयबाट लापरबाहीपूर्ण तरिकाले अरु जिल्ला वा कार्यालयमा प्रहरी पु¥याउने तथा अन्यत्रबाट यी कार्यालयमा ल्याउने गरिएको छ । प्रतिकूल समयमा मनपरी ढंगले आफूअनुकूल प्रहरी फेरबदल र ओसारपसार गरिँदा प्रदेश १ मा नेपाल प्रहरीभित्र कोरोनाको संक्रमण फैलिएको पाइएको छ । संक्रमणले महामारीको रुपमा लिइरहेका बेला कार्यरत रहेको स्थानबाट सरुवा र स्थानान्तरण गरेर विभिन्न ठाउँमा पु¥याइएका प्रहरीमा कोरोना देखिन थालेको हो ।

जसका कारण प्रहरीभित्रै प्रदेश १ का प्रहरी प्रमुख डीआईजी ईश्वरबाबु कार्कीको तीव्र आलोचना र विरोध हुन थालेको छ । प्रदेश प्रहरीका रुपमा सरुवा भएपछि कार्कीले वैशाख ११ गतेबाट हाजिर भएर काम थालेका हुन् । प्रदेश आउने वित्तिकैदेखि प्रहरीभित्र चलखेल थालेका उनले आफूअनुकूलकालाई ल्याउने र अरुलाई पाखा लगाउने हिसाबमा काम गर्दा सिंगो प्रहरी संगठन विश्वमै महामारीको रुप लिएको कोरोना संक्रमणको नराम्रो दलदलमा फसेको छ ।

प्रदेशमा प्रहरीभित्र कोरोना फैलनुमा डीआईजी कार्कीको मुख्य दोष रहेको प्रहरीका एक उच्च अधिकारीले बताए । उनकाअनुसार संक्रमण पुष्टि भएको कार्यालयलाई सिल गर्दै त्यहाँ कार्यरतलाई तत्कालका लागि अरुसँगको सम्पर्कबाट टाढै राख्नु पर्ने तथा अन्यत्र पठाउन नमिल्ने भए पनि स्थानान्तरण गरेर अरु जिल्लामा पठाइएपछि थप तनाव बढेको छ ।

स्थानान्तरण गर्न खोजिएकाहरुको स्वाबको परीक्षण गरेर कोरोना भए÷नभएको यकिन गर्नु पर्नेमा बिना परीक्षण संक्रमण फैलिइरहेको कार्यालयबाट सरुवा गरेर प्रहरीलाई अन्यत्र लगिएको छ । जसले अरु प्रहरी कार्यालयमा कोरोना फैलने जोखिम बढेको छ । प्रहरी स्रोतले परीक्षण बिनानै लापरबाहीपूर्ण ढंगले प्रहरी कर्मचारीलाई स्थानान्तरण गरिँदा संक्रमण फैलिएको बतायो ।

प्रदेशमा हालसम्म ६५ प्रहरीमा संक्रमण पुष्टि भइसकेको छ । प्रदेशका ३८, गणका सात, खोटाङ लगिएका सात, मोरङका पाँच, धनकुटा, इलाम र सुनसरीका दुई÷दुई, झापा र ओखलढुंगाका एक÷एक जनामा संक्रमण देखिएको हो । साउन ७ गते प्रदेश कार्यालयमै एक सिनियर अधिकृतमा कोरोना पुष्टि भयो । त्यसपछि प्रहरीभित्र संक्रमण व्यापक बढीरहेको छ ।

तर यस्तो अवस्थामा पनि डीआईजी कार्कीले प्रहरीको स्थानान्तरण र फेरबदल रोकेका छैनन् । नेपाल–भारत सीमा क्षेत्रबाट भइरहेका चोरी तस्करीलाई नियन्त्रण गर्नु पर्ने ठाउँमा बढवा दिइरहेको आरोप लागेका उनी प्रदेशमा आउने वित्तिकै सरुवा निकाल्ने, एक ठाउँमा कार्यरतलाई अर्को ठाउँमा पु¥याउने तथा आफ्ना नजिककालाई काखी च्याप्ने खेलमा लागेको स्रोतले बतायो । प्राय प्रदेश प्रहरी प्रमुख बनेर आउने डीआईजीहरु यी कुनै कुराबाट अछुतो रहँदैनन् ।

कोरोना संक्रमणकै बीचमा सरुवा भएर आएपछि कार्कीले असार १६ गते ठूलो संख्यामा प्रहरी जवानको सरुवा निकाले । एक हजार दुई सय १३ प्रहरीलाई सरुवा गर्दै दरबन्दी भएका ठाउँमा पु¥याउने र काजमा रहेका धेरै प्रहरीलाई दरबन्दीमा पठाउने काम गरे ।

असार तेस्रो साताबाट हालसम्म दुई हजार ४४ प्रहरीलाई उनले स्थानान्तरण गरिसकेका छन् । तर त्यस क्रममा संक्रमणबाट बच्न अपनाउनु पर्ने कुनै पनि सुरक्षात्मक उपाय अपनाइएन । फलस्वरुप प्रहरी संक्रमणको जोखिममा परे ।

प्रहरीका एक अधिकृतले दूरी कायम गर्नु पर्ने संक्रमणको भयावह अवस्थामा एउटै गाडीमा भेडाबाख्रा जस्तो कोचाकोच राखेर बिना परीक्षण एवं सावधानी प्रहरीलाई तराईबाट पहाड र पहाडबाट तराई गर्ने गरिएको बताए । यसरी लापरबाहीपूर्ण तरिकाले प्रहरी फेरबदल गर्दा एक ठाउँमा संक्रमित बनेको प्रहरीले अर्को ठाउँमा गएर कोरोना फैल्याएका छन् ।

‘यसरी स्थानान्तरण गरिएका धेरै प्रहरीमा कोरोना हुन सक्ने भए पनि अहिलेसम्म शंका लागेका बाहेकको परीक्षण नै गरिएको छैन,’ उनले भने, ‘सुरक्षात्मक उपाय नअपनाइकन जथभावी गरिँदा प्रहरीमा कोरोना सल्कियो र प्रहरी असुरक्षित बन्नु पर्ने अवस्था आयो ।’ यस्तो हुँदा लक्षण नदेखिएका संक्रमित प्रहरीबाट अरु पनि संक्रमित हुनु पर्ने अवस्था रहेको उनको भनाइ छ ।

नेपाल प्रहरीका पूर्व डीएसपी रामजी कटुवाल महामारीको ‘कन्टयाक्ट ट्रेसिङ’मै सरकार चुकिरहेको बेला प्रहरीलाई लापरबाहीपूर्ण तरिकाले ओहोरदोहोर गराउनु दुखद् भएको बताउँछन् । ‘अहिले अर्को ठाउँमा लैजाने तथा सरुवा गर्ने बेला थिएन । जुन ठाउँमा कार्यरत छन् त्यही ठाउँमा राखेको भए संक्रमित हुनबाट प्रहरी बच्ने थिए, ’ उनले भने, ‘एक ठाउँदेखि गएकाबाट अरु प्रहरीमा कोरोना फैलिएको छ । प्रहरीभित्रको पछिल्लो संक्रमण हेर्दा त्यो पुष्टि हुन्छ ।’

ठूलो संख्यामा एकै ठाउँमा गतिविधी गर्नु पर्ने, बस्नु र खानु पर्ने तथा शौचालयसमेत एउटै प्रयोय गर्नु पर्ने अवस्थामा प्रहरीमा एकबाट अर्कोमा कोरोना चाँडो सर्ने हुँदा संक्रमणकालीन अवस्थामा प्रहरीको स्थानान्तरण रोक्नु पर्ने कटुवालको भनाइ छ । समुदायसँग प्रत्यक्ष सम्पर्कमा बसेर काम गर्ने भएकाले अनआवश्यक रुपमा एक ठाउँबाट अर्को ठाउँमा ओहोरदोहोर र आवतजावत गराउँदा संक्रमित प्रहरीबाटै समुदाय पनि खतरामा पर्ने उनले बताए ।

‘संक्रमणको भयावह अवस्थामा जुन कार्यालयमा कार्यरत छन् त्यही कार्यालयमा प्रहरीलाई ‘होल्ड’ गराएर जोखिम सकिएपछि सरुवा र स्थानान्तरण गरेको भए हुन्थ्यो,’ कटुवालले भने, ‘तर हतारो र लापरबाहीले प्रहरीभित्र कोरोना फैलिन पुग्यो । सरुवा र स्थानान्तरण अहिले तत्काल आवश्यकनै थिएन ।’

प्रदेश प्रहरी प्रमुख डीआईजी कार्कीले स्थानान्तरण गरिसकेपछि सम्बन्धित ठाउँमा पु¥याएर क्वारेन्टाइनमा राख्दै प्रहरीलाई परीक्षण गरिसकेपछि मात्रै काममा खटाउने गरिएको बताए । कोरोना संक्रमण फैलने बारेमा सचेत रहेको बताउँदै कार्कीले प्रहरीलाई स्थानान्तरण गराउँदा पनि सावधानी अपनाइएको बताउँदै भने, ‘एक ठाउँबाट अर्को ठाउँमा स्थानान्तरण गरिएका कारण प्रहरीमा संक्रमण भएको भन्न मिल्दैन ।’