कोरोनाले न्यूजिल्याण्डको निर्वाचन धकेलियो

विराटनगर, १ भदौ । विश्वभर महामारीको रुप लिएको कोरोना भाइरस संक्रमणका कारण न्यूजिल्याण्डको आम निर्वाचन एक महिनापछि सरेको छ ।

कोरोना भाइरसका संक्रमितहरु पुनः देखिन थालेको भन्दै प्रधानमन्त्री ज्यासिन्डा आर्डर्नले निर्वाचन एक महिनापछिका लागि सारिएको घोषणा गरिन्
। न्यूजिल्याण्डमा आउँदो सेप्टेम्बर १९ मा आमचुनाव हुँदै थियो । तर एक महिनापछि धकेलिएर अब अक्टोबर १७ का लागि मतदानको मिति तोकिएको छ । उक्त मिति प्रधानमन्त्री ज्यासिन्डाले घोषणा गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रधानमन्त्री ज्यासिन्डाले निर्वाचनको मिति पछि धकेलिएसँगै पार्टीहरुलाई परिवर्तित परिवेशमा नयाँ रणनीति बनाउन तथा चुनावी अभियान चलाउन अवसर मिलेको बताएकी छन् । यो हप्ताको सुरु कोरोना भाइरसका संक्रमति पुनः देखिएपछि न्यूजिल्याण्डको सबैभन्दा ठूलो शहर ओक्ल्याण्डमा पुनः लकडाउन गरिएको थियो ।

आइतबारसम्म न्यूजिल्याण्डमा एउटै क्लस्टरसँग जोडिएका कोरोना भाइरसका ४९ संक्रमित पत्ता लागेका छन्। न्यूजिल्याण्डमा हालसम्म एक हजार छ सय २२ संक्रमित भेटिएका छन् । २२ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ ।

Loading...