बेलारुसका राष्ट्रपतिका समर्थकको र्‍याली विपक्षीको प्रदर्शनको ओझेलमा

विराटनगर, १ भदौ । बेलारुसको विवादास्पद राष्ट्रपतीय चुनावको विरोधमा विपक्षीले हजारौंलाई उतारेर प्रदर्शन गर्न थालेका छन् ।

बेलारुसका राष्ट्रपति एलेक्सान्डर लुकाशेन्को विरोधमा दशौँ हजार विरोधी मिन्स्कमा भेला भएर प्रदर्शनमा उत्रिएका हुन् । ‘मार्च फर फ्रिडम’ नाम दिएर प्रदर्शनका लागि दशौँ हजार सर्वासाधारण राजनधानी मिन्स्कमा भेला भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । जसका कारण राष्ट्रपति एलेक्सान्डर लुकाशेन्को समर्थकको सयौंको संख्यामा भइरहेको र्‍याली ओझेलमा परेको छ ।

बेलारुसमा चुनावमा धाँधली भएको तथा प्रहरीले ज्यादती गरेको विरोधमा लगातार प्रदर्शन भइरहेको छ । आफ्ना समर्थकलाई सम्बोधन गर्दै राष्ट्रपति लुकाशेन्कोले भने विपक्षीलाई ‘मुसा’ को संज्ञा दिएका छन् । उनले आफ्ना समर्थकलाई देश र स्वतन्त्रताको रक्षाका लागि लड्न आग्रह गरेका छन् ।

रुसले राष्ट्रपतिको पक्षमा आवश्यक परे सुरक्षा सहयोग प्रदान गर्ने बताएपछि बाह्य शैन्य जोखिम बढेको भन्दै बेलारुसमा विपक्षीहरु थप आक्रोशित भएका छन् । बेलारुसमा अगस्त ९ मा भएको मतदानमा राष्ट्रपति एलेक्सान्डर लुकाशेन्कोले जित हाँसिल गरेका थिए । तर निर्वाचनमा धाँधली भएको भन्दै सुरु भएको विपक्षीको प्रदर्शन र विरोधका कारण उनको नतिजा सुखद् हुन सकिरहेको छैन ।

बेलारुसको निर्वाचन आयोगले सन् १९९४ देखि सत्तामा रहँदै आएका लुकाशेन्कोले अगस्ट ९ मा भएको चुनावमा ८०.१ प्रतिशत मत पाएको बताएको छ । विपक्षी उम्मेदवार स्भेट्लाना तिखानोभ्स्कायाले मात्रै १०.१२ प्रतिशत मत पाएको निर्वाचन आयोगको भनाई छ । तर स्भेट्लानाले ६० देखि ७० प्रतिशत मत पाएको दाबी गर्दै मत राम्रोसँग गणना गर्न माग गरेकी छन् ।

Loading...