कोरोना कोषमा सवा १३ करोड थप

विराटनगर, १ भदौ । कोरोना सङ्क्रमण रोकथाम, नियन्त्रण र उपचार कोषका लागि चारवटा वित्तीय संस्थाले नेपाल सरकारले स्थापना गरेको कोरोना कोषमा सवा १३ करोड रुपैयाँभन्दा बढी सहयोग गरेका छन् ।

अर्थमन्त्री डा. युवराज खतिवडालाई डिप्रोक्स लघुवित्त, राष्ट्रिय वाणिज्य बैङ्क, कृषि विकास बैङ्क र नबिल बैङ्कले गरी १३ करोड २६ लाख ६१ हजार तीन सय ५० रुपैयाँ हस्तान्तरण गरेका हुन् । अर्थ मन्त्रालयका अनुसार नबिल बैङ्कले छ करोड, कृषि विकास बैङ्कले चार करोड १० लाख १० हजार ७५ र राष्ट्रिय वाणिज्य बैङ्कले दुई करोड ६९ लाख ९३ हजार १४५ रुपैयाँ सहयोग प्रदान गरेका छन् । त्यस्तै डिप्रोक्स लघुवित्तले ४६ लाख ५८ हजार १२९ रुपैयाँ प्रदान गरेको छ ।

रकम प्राप्ति समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. खतिवडाले प्राप्त रकम सदुपयोग हुने विश्वास दिलाए । उहाँले बैङ्कहरू प्रतिस्पर्धी हुँदा अर्थतन्त्रलाई नै सहयोग पुग्ने भन्दै केन्द्रीय बैङ्कको निर्देशनभित्र रहेर काम गर्न आग्रह गरे ।

अन्य चार वाणिज्य बैङ्कले पनि सरकारको कोरोना कोषमा सात करोड ६० लाख ४० हजार छ सय ४४ रुपैयाँ जम्मा गरेका छन् । नेपाल बैङ्कले तीन करोड ४६ लाख, सिद्धार्थ बैङ्कले दुई करोड ६७ लाख २८ हजार, प्रभु बैङ्कले एक करोड ३९ लाख र सनराइज बैङ्कले ७९ लाख ४४ हजार रुपैयाँ हाराहारीमा उक्त कोषलाई रकम दिएका छन् । आजको गोरखापत्र दैनिकमा समाचार छ

Loading...