Rumpum

Rumpum Advertisement

खेल्न नपाउँदा निराश रोड्रिग्वेज

खेल्न नपाउँदा निराश रोड्रिग्वेज

एजेन्सी, ३२ साउन । रियल मड्रिडका मिडफिल्डर जेम्स रोड्रिग्वेज पछिल्लो समय टोलीमा पर्न संघर्षरत छन् । २०१९–२० को ला लिगामा आठ खेल खेल्न पाएका उनले मैदानमा मात्र ४१९ मिनेट बिताएका छन् ।

अधिकांश समय बेन्चमा रहेका उनी खेल्न नपाउँदा निराश देखिएका छन् । कोलम्बियन स्टार रोड्रिग्वेजले खेल्न नपाउँदाको निराशापन हालै दिएको एक अन्तर्वार्ताका क्रममा पोखेका छन् ।

‘खेल्न नपाउनु निराशाजनक हो । मलाई थाहा छ कि मसँग सधैं खेल्ने अवस्था हुन्छ तर अन्य मानिसका कारण मैले खेल्न पाएको छैन । यदि, म खराब फुटबल हुँ भने मैले यो स्वीकार्नु पर्छ । तर, म त्यस्तो व्यक्ति हुँ, जो सधैं जित्न चाहन्छ, खेल पूरा गर्न चाहन्छ,’ उनले भने ।

प्रशिक्षक जिनेदिन जिदान र रोड्रिग्वेजको सम्बन्धको कारण उनले खेल्ने मौका नपाएको बताइन्छ । ‘खेलाडी छान्ने जिदानको आफ्नै शैली छ । सबैले उहाँको शैलीको सम्मान गर्नुपर्छ । म त्यस्ता कुरामा अल्झिन चाहन्नँ’, उनले थपे ।

‘खेल्न नपाएर मैले क्लब छोड्न चाहेको थिएँ तर अनुमति पाइनँ । जहाँबाट खेल्न पाइन्छ, म त्यहीँ जान चाहेको थिएँ । मलाई थाहा थियो कि मैले जिदानको टोलीबाट खेल्ने मौका पाउँदिन भन्ने,’ निराश हुँदै उनले भने ।

सन् २०१४ मा माेनाकाेबाट रियलमा अनुबन्ध भएका उनी २०१७ मा लाेनमा बायर्न म्युनिख गएका थिए । यस्तै २०१९ मा उनी पुनः रियल फर्किए । तर, प्रशिक्षक जिदान नेतृत्त्वकाे टाेलीमा उनले खेल्ने माैका भने बिरलै पाए ।