जोखिम बढेसँगै काठमाडौं उपत्यकामा कडाइ

काठमाठौं, ३२ साउन । उपत्यकामा कोरोना भाइरसको उच्च जोखिम बढेसँगै थप संक्रमण फैलनबाट रोक्न अनुगमनमा कडाइ गरिएको छ ।

उपत्यकामा तोकिएको सुरक्षा मापदण्ड पालनामा कडाइ गर्न अनुगमन टोलीलाई थप सक्रिय पारिएको हो ।

काठमाण्डौंमा पाँच वटा तथा ललितपुर र भक्तपुरमा ४–४ वटा अनुगमन टोली परिचालन गरी अनुगमन र कारवाहीलाई तीब्र पारिएको गृह मन्त्रालयले जनाएको छ।

गृह प्रशासनले अहिले उपत्यका प्रवेशसँगै २ सयभन्दा बढी सक्रिय संक्रमित भएका जिल्लामा सवारी पास वितरण बन्द गरेको छ ।

कोरोना संक्रमण समुदायमा फैलन नदिन आवश्यक सवै प्रयासहरू भइरहेको र परिस्थिति हेरी थप कदम चालिने पनि गृह मन्त्रालयले जनाएको छ । तोकिएको सुरक्षा मापदण्ड पालनामा हेलचक्र्याइँ गर्नेहरूमाथि कारवाहीलाई थप कडाइ गरिएको पनि गृह मन्त्रालयले जनाएको छ ।

यसैबीच मास्कको प्रयोग नगरी हिँड्ने ४ लाख १९ हजार ५ सय ३८ जनालाई नियन्त्रणमा लिई छाडिएको छ । काठमाण्डौं उपत्यका प्रवेश गर्न खोज्ने ७ हजार ६ सय ३५ सवारी साधनलाई प्रवेश विन्दु मै फर्काइएको छ ।

विनाअनुमति उपत्यका प्रवेश गर्न खोज्ने १९ हजार ४ सय ८३ जनालाई प्रवेश नाकावाटै फिर्ता पठाइएको पनि गृह मन्त्रालयले जनाएको छ ।

Loading...