दक्षिण कोरियामा एकैदिनमा मार्चपछिकै सबैभन्दा धेरैमा कोरोना देखियो

एजेन्सी, ३२ साउन । दक्षिण कोरियामा कोरोना भाइरसबाट एकैदिनमा मार्च महिनापछिकै सबैभन्दा धेरै सङ्क्रमित फेला परेका छन् । दक्षिण कोरियामा पछिल्लो २४ घण्टामा २७९ जना नयाँ सङ्क्रमित भेटिएका छन् ।

यो संख्या गत मार्चयताकै एकै दिन भेटिएकाे सबैभन्दा धेरै संख्या हाे । योसँगै दक्षिण कोरियामा कोरोना सङ्क्रमितकाे कुल सङ्ख्या १५ हजार ३८१ पुगेको छ ।

कोरियाली रोग नियन्त्रण केन्द्रले सार्वजनिक गरेको विवरण अनुसार दक्षिण कोरियामा कोरोनाका कारण अहिलेसम्म ३०५ जनाको मृत्यु भएको छ ।

अधिकारीहरूका अनुसार गत मार्च ८ मा एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरै ३६७ जना सङ्क्रमित भएका थिए ।

कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको सङ्ख्या बढेकाले दक्षिण कोरियामा उच्च स्वास्थ्य सतर्कता अपनाइएको छ भने कतिपय प्रतिबन्धात्मक व्यवस्था लागू गरिएको छ ।

पछिल्लो समयमा भेटिएका नयाँ सङ्क्रमितमध्ये २५३ जना राजधानी सोलका मात्रै रहेको रोग नियन्त्रण केन्द्रले जनाएको छ ।

सङ्क्रमण फैलिन नदिनका लागि सरकारी तथा स्वास्थ्य अधिकारीहरूले चर्च, नर्सिङ् होम, विद्यालय, रेष्टुरेन्टलगायतमा विषेश ध्यान दिएका छन् ।

देशका अन्य मुख्य सहरहरू बुसन, डेगुलगायतमा पनि सङ्क्रमण फैलिएका विवरणहरू आइरहेका छन् ।

ती ठाउँहरुमा गत फेब्रअरी र मार्चमा कोरोनाभाइरसको सङ्क्रमणका केन्द्रविन्दुहरू भएका थिए । जहाँ दैनिक सयौँ नयाँ नयाँ सङ्क्रमितहरू भेटिने गरेका थिए ।

सङ्क्रमितहरूको सङ्ख्याका आधारमा दक्षिण कोरियाली सरकारले आम नागरिकका गतिविधिमा कहिले कडाई गर्ने र कहिले खुकुलो पार्ने कार्य गरिरहेको छ । रासस

Loading...