Rumpum

Rumpum Advertisement

अर्थर बार्सिलोना छोडेर युभेन्टस जाँदै

अर्थर बार्सिलोना छोडेर युभेन्टस जाँदै

एजेन्सी, ३२ साउन । ब्राजिलियन स्टार अर्थर मेलो अर्को साता बार्सिलोना छोडेर इटालियन क्लब युभेन्टस जाने भएका छन् । दुई वर्ष अगाडि बार्सिलोना आएका मिडफिल्डर अर्थर २३ अगस्टमा इटाली जाने भएका हुन् ।

अर्थर साता दिनअघि मात्र च्याम्पियन्स लिगका लागि स्वदेशबाट ब्राजिल फर्किएका थिए । क्याप नोउ नफर्किने र बार्सिलोनाबाट पुनः नखेल्ने अडान लिए पनि क्याटलान क्लबले कानूनी लडाइँ लड्ने भन्दै टोलीमा बोलाएको थियो ।

ला लिगा सकिएपछि स्वदेश गएका अर्थले पुनः बार्सिलोना फर्किन अस्वीकार गरेका थिए । इच्छाविपरीत आफूलाई क्लब छोड्न बाध्य पारेको भन्दै उनले बार्सिलोनाबाट फेरि नखेल्ने बताएका थिए ।

बार्सिलोनाले जुन महिनाको अन्त्यतिरै अर्थरलाई इटालियन क्लब युभेन्टसमा बेचेको थियो ।
अर्थर यसै सिजन ७२ मिलियन युरोमा सिरी ‘ए’ च्याम्पियन क्लब युभेन्टस जाने पक्का भइसकेको छ ।

मिरालेम पियानिकसँग सट्टापट्टा भएका २३ वर्षीय अर्थरले पुनः बार्सिलोना नफर्किने र ब्राजिलमै बस्ने बताएपछि बार्सिलोनाले उनको व्यवहार अनुशासनहीन भएको भन्दै उनीविरुद्ध कानूनी लडाइँ लड्ने जनाएको थियो ।

त्यसपछि उनी बार्सिलोना फर्किन बाध्य भएका थिए । तथापि, बार्सिलोना फर्किए पनि उनी टोलीमा परेनन् । बार्सिलोनाले नापोली र बायर्न म्युनिख दुवै क्लबविरुद्ध उनलाई टोलीमा राखेन । उनले गत जुनयता नै बार्सिलोनाबाट खेलेका थिएनन् ।

बार्सिलोनाको च्याम्पियन्स लिगको यात्रा क्वार्टरफाइनलबाटै सकिएपछि अर्थर युभेन्टस जाने भएका हुन् । उनले बार्सिलोनाबाट इटाली जान स्वीकृती पनि पाइसकेका छन् । २३ अगस्टमा उनी इटाली प्रस्थान गर्नेछन् भने २४ अगस्टमा उनले युभेन्टसका नयाँ प्रशिक्षक पिर्लोको टोलीबाट प्रशिक्षण थाल्नेछन् ।

९ जुलाई २०१८ मा ब्राजिलियन क्लब ग्रेमियोबाट बार्सिलोना आएका अर्थरले त्यहाँबाट ७२ खेल खेलेका छन् । २०१९–२० मा भने उनले २८ खेल खेलेका छन् ।