छोरा-बुहारीमा कोरोना संक्रमण : छिमेकी र आफन्त नआएपछि आमाको शव सेनाले उठायो

विराटनगर, ३२ साउन । शनिबार राति विराटनगर–३ की ८७ वर्षीया वृद्धाको घरमै मृत्यु भयो ।

उनका कान्छा छोरा मंगलबारयता कोरोना पोजेटिभ देखिएका कारण आइसोलेशनमा छन् । घरमा वृद्धा आमासँगै बुहारी र नाति बसेका थिए । जेठाे छाेरा काठमाडाैंमा छ्न् ।

बिरामी अवस्थाकी वृद्धाकाे शनिबार राति मृत्यु भएपछि उनका बुहारी र नातिले छिमेकी र आफन्तसँग सहयोग मागे । तर, काेराेनासँग मिल्दाेजुल्दाे लक्षण देखिएका कारण उनीहरूलाई सहयोग गर्ने कोही भएन । रातभर दुईजना शव रुँगेर बसे । आइतबार बिहानपख पुगेका आफन्त बाटोमै बसे । घरभित्र पस्ने आँट गरेनन् ।

छोरामा संक्रमण देखिएपछि बुधबार परिवारका सबै सदस्यको स्वाब संकलन गरिएको थियो । मृत्युपछि वृद्धाको रिपोर्ट नेगेटिभ आयो । उनको स्हारमा बसेकी बुहारी र नातिको रिपोर्ट पोजेटिभ आयो ।

बुहारी र नातीकाे पोजेटिभ रिपोर्ट आएपछि घरमा पस्न छिमेकी र आफन्त डराए । उनीहरू गेटबाहिरै बसेर शव व्यवस्थापन गर्न विराटनगर महानगरपालिका र जिल्ला प्रशासन कार्यालयलाई गुहारे । कोरोना संक्रमण जाेखिमका कारण शव उठाउने मान्छे नभएपछि मृत्यु भएको २२ घण्टापछि नेपाली सेनाको टोलीले आइतबार साँझ शव उठाएको छ ।

कोरोनासँग मिल्दो–जुल्दो लक्षण देखिएपनि रिपोर्ट नेगेटिभ आएकी वृद्धाको शव नेपाली सेनाले व्यवस्थापन गर्न शव उठाएको हो । खतिवडा थरकी वृद्धाको शनिबार राति ९ बजेतिर मृत्यु भएको थियो ।

वृद्धाको दाहसंस्कार गर्न आफन्त र छिमेकीले नमानेपछि सेनाको टोलीले मोरङको कानेपोखरी जंगल अन्त्येष्टी गरेकाे हाे ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले आफन्त र परिवारका सदस्यसँगै छिमेकीले पनि अन्त्येष्टीमा सहभागी हुन नमानेपछि व्यवस्थापनका लागि सेनालाई जिम्मा दिएको बताए ।

कोरोना पोजेटिभ देखिएका मृतकको मात्रै शव नेपाली सेनाले व्यवस्थापन गर्छ । नेगेटिभ देखिए शव आफन्तलाई जिम्मा लगाइन्छ । तर नेगेटिभ रिपोर्ट आएकी वृद्धाको शव व्यवस्थापनमा आफन्तले नमानेपछि सेना खटिएको हो ।

काेराेना संक्रमण देखिएपछि खतिवडा थरकी वृद्धाका ५६ वर्षीय छोरा गत मंगलबारबाट मारवाडी सेवा सदनको हाेल्डिङ आइसोलेशनमा छन् । ५० वर्षीय बुहारी र २८ वर्षीय नातिको स्वाब परीक्षण रिपोर्ट पनि पोजेटिभ आएको छ ।

आइतबार बिहान वृद्धाको भने रिपोर्ट नेगेटिभ आएपछि दाहसंस्कार गर्न आफन्त र परिवारलाई अनुमति दिइएको थियो । तर कोरोना संक्रमित छोरा आइसोलेशनमा पुगेको र घरमा भएका बुहारी तथा नाति पनि संक्रमित भएका कारण अन्य आफन्त र छिमेकी घरमा पस्न मानेनन् ।

वडा अध्यक्ष विनोद बस्नेतले परिवारका अन्य सदस्य संक्रमित भएका कारण सर्ने डरले छिमेकी र आफन्त घरमा पस्न नमानेको बताए ।

Loading...