डेभिजको खेलबाट प्रभावित मार्सेलो

एजेन्सी, ३२ साउन । रियल मड्रिडका डिफेन्डर मार्सेलो जर्मन क्लब बायर्न म्युनिखका स्टार अल्फोन्सो डेभिजको खेलबाट प्रभावित बनेका छन् ।

च्याम्पियन्स लिगको क्वार्टरफाइनल खेलमा बार्सिलोविरुद्ध फराकिलो जित निकाल्दा उत्कृष्ट प्रदर्शन गरेका डेभिजको खेलबाट ब्राजिलियन स्टार मार्सेलो प्रभावित बनेका हुन् ।

बार्सिलोनामाथि ८–२ गोलान्तरको फराकिलो जित निकाल्दा क्यानडियन स्टार डेभिजले उत्कृष्ट असिस्ट गरेका थिए । १९ वर्षीय युवा स्टारले खेलको ६३औं मिनेटमा उत्कृष्ट पास मिलाउँदा जोसुआ किम्मिचले गोल गरेका थिए ।

अघिल्लो दिन डेभिजले सामाजिक सञ्जाल इन्स्टाग्राममा बार्सिलोनाका स्टार लियोनल मेस्सीसहितको फोटो पोस्ट गरेका थिए । उनले ‘अघिल्लो रात टोलीबाट निकै नै राम्रो प्रदर्शन रह्यो’ भन्दै फोटो पोस्ट गरेका थिए ।

सोही पोस्टको प्रतिक्रिया दिँदै मार्सेलोले लेखेका छन्, ‘जब म तिमीलाई हेर्छु, तिमीले मेरो आँखामा खुशी ल्याइदिन्छौ ।’

जनवरी २०१९ मा बायर्न आएका उनले डेब्यू सिजनमै बुन्डेसलिगामा नयाँ कीर्तिमान पनि बनाएका थिन् । उनले बुन्डेसलिगाकै तीब्र गतिका खेलाडीको रेकर्ड बनाएका थिए ।

बायर्नले लगातार आठौं पटक उपाधि जितेको खेलमा उनको गति ३६.५१ किलोमिटर प्रतिघण्टा (२२.६९ माइल्स प्रतिघण्टा) थियो ।

Loading...