बायर्न आउनुअघि बार्सिलोनाले अस्वीकार गरेको थियो डेभिजलाई

एजेन्सी, ३२ साउन । च्याम्पियन्स लिगअन्तर्गत क्वार्टरफाइनल खेलमा जर्मन क्लब बायर्न म्युनिखको बार्सिलोविरुद्धको खेल सम्झनलायक रह्यो । बार्सिलोनामाथि ८–२ गोलान्तरको फराकिलो जित निकालेका कारण बायर्नको यो खेल उत्कृष्ट रह्यो ।

उस्तै विशेष रह्यो, क्यानडियन स्टार अल्फोन्सो डेभिजको पनि । १९ वर्षीय युवा स्टारले बार्सिलोनाविरुद्ध राम्रो प्रर्दशन गरे । खेलको ६३औं मिनेटमा डभिजकै उत्कृष्ट असिस्टमा जोसुआ किम्मिचले गोल गरेका थिए ।

जनवरी २०१९ मा बायर्न आएका उनले डेब्यू सिजनमै बुन्डेसलिगामा नयाँ कीर्तिमान पनि बनाएका छन् । उनले बुन्डेसलिगाकै तीब्र गतिका खेलाडीको रेकर्ड बनाएका थिए । बायर्नले लगातार आठौं पटक उपाधि जितेको खेलमा उनको गति ३६.५१ किलोमिटर प्रतिघण्टा (२२.६९ माइल्स प्रतिघण्टा) थियो ।

तर, उनै डेभिजलाई भित्र्याउन बार्सिलोनाले अस्वीकार गरेको थियो । बायर्न आउनुअघि उनी बार्सिलोना जाने चर्चा थियो । तर, ‘टीयूडीएन’का अनुसार बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउले उनलाई अस्वीकार गरेका थिए ।

डेभिजको एजेन्ट एजीटी स्पोर्ट्सले बार्सिलोनासँग उनको विषयमा कुरा राखेको थियो, जसमा बार्टोमेउले डेभिज आफूलाई नचाहिने भन्दै उनलाई अस्वीकार गरेका थिए ।

Loading...