नेपाल ओलम्पिक कमिटीका दुई कर्मचारीमा कोरोना पुष्टि

काठमाडौं, ३२ साउन । नेपाल ओलम्पिक कमिटीका दुई कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बुधवार राष्ट्रिय खेलकुद परिषद्ले गरेको पीसीआर परीक्षणमा एनओसीका २ जना कर्मचारीमा कोरोना पोजेटिभ देखिएको एनओसीका महासचिव निलेन्द्रराज श्रेष्ठले बताए ।

२ जना कर्मचारीमा कोरोना देखिएसँगै ओलम्पिक भवन कम्तीमा २ साताका लागि बन्द हुने भएको छ । केही दिन अगाडी मात्र कमिटीले तीन दिनका लागि कार्यालय बन्द हुने नोटिस जारी गरेको थियो । तर अब कर्मचारीमा कोरोना देखिएपछि कार्यालय कम्तीमा २ साताका लागि बन्द हुनेछ ।

कमिटीका अन्य २ जना कर्मचारीको नतिजा आउन बाँकी रहेको छ । कोरोना पोजेटिभ देखिएका दुवै जना कमिटीको सातदोबाटोको भवनमै आइसोलेसनमा बस्ने श्रेष्ठले बताए ।

सात दोबाटोको अन्तर्राष्ट्रिय खेलकुद परिसरमा कोरोना देखिएपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले पनि कार्यालय बन्द गरेको थियो । सातदोबाटोकै कराते एकेडेमीमा ओलम्पिक छनोटको तयारी पनि स्थगित भइसकेको छ ।

नेपाली खेलकुद क्षेत्रमा योसँगै पाँचौँ कोरोनाको केश हो । यसअघि क्रिकेटर पवन दास र स्क्वास प्रशिक्षक हिरा थापा कोरोनाबाट संक्रमित भएका थिए । यस्तै राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणमा बोलाइएका एक खेलाडीमा पनि कोरोना लागेको पुष्टि भएको थियो ।

Loading...