कोरोना नियन्त्रण गर्न सरकार र नागरिक दुवै सचेत हुन आवश्यक : गृहमन्त्री

काठमाडौ, ३२ साउन । गृहमन्त्री रामबहादुर थापाले कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि सुरक्षाका नियमहरु पालन गर्न सर्वसाधारणलाई अपिल गरेका छन् ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको बन्दाबन्दीको सबै नियमहरु पालना गर्न अपिल गरेका हुन् । सरकारले मात्रै कोरोना रोकथाम तथा नियन्त्रणका लागि काम गरेर नहुने भन्दै सबै नागरिकले सचेतना अपनाउन आवश्यक रहेको उनले बताए ।

गृहमन्त्री थापाले सरकार र नागरिक सबैले एकसाथ सचेत भई नियमहरु पालना गरेमा संक्रमणलाई नियन्त्रण गर्न सकिने बताए । उनले भने, ‘कोरोनाको सन्दर्भमा नागरिकहरुले पनि बन्दाबन्दीका नियमहरुलाई पालन गर्दिनहुन म अनुरोध गर्न चाहन्छु । किनभने सरकारले मात्रै गरेर कोरोनाको रोकथाम गर्न सकिन्न, नागरिकहरुको सहभागिता र उनीहरुको सचेतताले मात्रै कोरोनाको संक्रमणलाई हामीले रोक्न सक्छौं ।’

कोरोना रोकथाम तथा नियन्त्रणका लागि लकडाउन लागू भए पनि फेरि संक्रमण बढिरहेको छ । सरकारले केही कडाइँ गरी नियन्त्रणको प्रयास गरिरहेको गृहमन्त्री थापाले बताए । पुनः बन्दाबन्दी गरेर समस्याको हल नहुने भएकाले सबै क्षेत्रलाई क्रमशः मापदण्ड अपनाएर खोल्न दिने नीति लिइएको प्रष्ट पारे । लकडाउनका कारण आर्थिक समस्याहरु देखिन थालेपछि सरकारले कोरोना र आर्थिक संकटको अवस्थालाई तालमेल गरी अगाडि बढ्ने नीति लिएको बताए ।

सरकारले देशभित्र प्रवेश गर्ने १० वटा नाका तोके पनि अझै पनि लुकीछिपी आउने काम भइराखेको र त्यसको नियन्त्रणका लागि गृहमन्त्रालयले अधिकतम प्रयास गरेको बताए । अहिले पनि खुला नाकाहरु नियन्त्रणका लागि एक हजार दुई सयभन्दा बढी बोर्डर आउटपोस्ट (बिओपी) स्थापना गरिएको गृहमन्त्री थापाले बताए ।

अहिले देशमा बाढीपहिरो र कोरोनाको संकट एकैपटक आएकाले यसको समाधानमा जटिलता पैदा भएको थापाले बताए । कोरोनाको लागि कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) क्रियाशील रहेको र बाढीपहिरोका लागि विपद जोखिम न्यूनीकरण व्यवस्थापन समितिले काम गरिराखेको थापाले बताए ।

यस वर्ष मनसुन सुरु हुनभन्दा अगाडि नै विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठक बसेर पूर्वतयारी गरेकोसमेत गृहमन्त्री थापाले बताए । विपदको समस्या गृह मन्त्रालयको मात्रै नभएर अन्य केही सरोकारवालाहरुको पनि समस्या भएकाले ती निकायहरुबीच तालमेल हुन नसक्दा उद्दार तथा राहत कार्यमा केही जटिलता आएको थापाले बताए । बाढीपहिरोका कारण क्षति पुगेको ठाउँमा रोकथाम तथा नियन्त्रणका लागि केन्द्र, प्रदेश र स्थानीय तहमा तयारी गरिएको पनि उनले बताए ।

गृहमन्त्री थापाले प्रधानमन्त्री दैवी प्रकोप राहत कोष र गृह मन्त्रालयअन्तर्गत रहेको रकमबाट उद्दार र पुनस्र्थापनाका लागि निकासी गरी काम भइरोखेको बताए ।

Loading...